१ शमूएल 21:1-15 NNRV2012 - Bible AI

1दाऊद नोबमा अहीमेलेक पूजाहारीकहाँ गए। तिनलाई भेट्‌दा अहीमेलेक कामे र भने, “तपाईं किन एकलै आउनुभयो? किन तपाईंसँग कोही छैन?”

2दाऊदले अहीमेलेकलाई भने, “म राजाको हुकुम लिएर आएको छु। उहाँले खटाउनुभएको कामको बारेमा अथवा यी हुकुम के हुन्‌ भनी मैले कसैलाई थाहा दिनुहुँदैन। जब म मेरा मानिसहरूबाट बिदा भएँ तब मैले तिनीहरूलाई अमुक ठाउँमा भेट्‌नू भनी भने।

3अब तपाईंसित के छ? मलाई पाँच वटा रोटी अथवा जति पाउन सक्‍नुहुन्‍छ दिनुहोस्‌।”

4तर पूजाहारीले दाऊदलाई भने, “मसित साधारण रोटी त छैन। चढ़ाइएको पवित्र रोटी मात्र छ। तर के ती जवानहरू स्‍त्रीबाट अलग बसेका छन्‌?”

5दाऊदले पूजाहारीलाई जवाफ दिए, “अहिलेसम्‍म धावामा जाँदा, हामीहरू स्‍त्रीहरूबाट अलग बसेका छौं। अशुद्ध काम गर्न गएका भए तापनि यी जवान मानिसहरूका वस्‍तुहरू चोखा छन्‌। आजको दिन तिनीहरूका वस्‍तुहरू झन्‌ कति बढ़ी चोखा छन्‌!”

6त्‍यहाँ अरू कुनै रोटी नभएको हुनाले ती पूजाहारीले तिनलाई त्‍यो चढ़ाइएको रोटी दिइहाले, जुन रोटी परमप्रभुको सामुबाट निकालिएर उही दिनमा तातो रोटीले साटिएको थियो।

7शाऊलका सेवकहरूमध्‍ये एक जना पनि त्‍यस दिन त्‍यहीँ परमप्रभुको सामु रोकिएर बसेको थियो। त्‍यसको नाउँ एदोमी दोएग थियो, र त्‍यो शाऊलका गोठालाहरूका सबैभन्‍दा मुख्‍य थियो।

8दाऊदले अहीमेलेकलाई भने, “के तपाईंसँग कुनै भाला वा तरवार छ? किनभने राजाको काम साह्रै जरूरी भएको हुनाले मैले तरवार वा अरू हतियार ल्‍याउन पाइनँ।”

9पूजाहारीले जवाफ दिए, “एलाहको बेँसीमा तपाईंले मार्नुभएको पलिश्‍ती गोल्‍यतको तरवार यहाँ छ। त्‍यो एपोदको पछाड़ि लुगामा बेहेरेर राखिएको छ। त्‍यो लैजाने इच्‍छा भए लैजानुहोस्‌। यहाँ अरू कुनै हतियार छैन।” दाऊदले भने, “त्‍यो जस्‍तो अरू तरवारै छैन। मलाई त्‍यही दिनुहोस्‌।”

10त्‍यस दिन शाऊलबाट भागेर दाऊद आफ्‍नो बाटो लागे, र गातका राजा आकीशकहाँ गए।

11तर आकीशका सेवकहरूले उनलाई भने, “देशका राजा दाऊद यिनी नै हुन्, जसको विषयमा नाच्‍दै तिनीहरूले यसो भनेर गाएका छन्‌:

11“‘शाऊलले हजारौँ हजारलाई ध्‍वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्‍वंस गरे’।”

12यी कुरा दाऊदले मनमा राखिछोड़े, र तिनी गातका राजा आकीशसित साह्रै डराए।

13त्‍यसैकारण तिनले उनीहरूका सामुन्‍ने पागलपनको अभिनय गरे। उनीहरू सबैका सामु मूल ढोकाका दुवै पाटामा कोर्दै र दाह्रीमा राल चुहाउँदै तिनी बौलाहाजस्‍तो भए।

14आकीशले आफ्‍ना सेवकहरूलाई भने, “यो मानिस त बौलाहा पो रहेछ। त्‍यसलाई किन मकहाँ ल्‍याउँदछौ?

15के मकहाँ बौलाहाहरूको अभाव छ, र तिमीहरू यसलाई मलाई सताउन ल्‍याउँदछौ? के यस्‍तालाई मैले मेरो घरमा राख्‍नु?”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>