1पलिश्तीहरू कीलाहको विरुद्धमा लड़ाइँ गरेर अन्नका खला लुटिरहेका थिए।
2जब दाऊदले यो कुरा सुने, तब तिनले परमप्रभुसित यसो भनेर सल्लाह मागे, “म गएर ती पलिश्तीहरूलाई आक्रमण गरूँ कि नगरूँ?”
3तर दाऊदका मानिसहरूले तिनलाई भने, “यसै त यहाँ हामीलाई यहूदामा डर छ, झन् कीलाहमा पलिश्ती फौजहरूका विरुद्धमा चढ़ाई गर्यौं भने हाम्रो के गति हुन्छ?”
4दाऊदले फेरि एक पल्ट परमप्रभुको सल्लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, “कीलाहमा जा। म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
5यसैकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए, र पलिश्तीहरूसँग लड़ाइँ गरे। तिनीहरूले उनीहरूका गाई-गोरुहरू लगे, उनीहरूको ठूलो संहार गरे, र कीलाहका बासिन्दाहरूलाई मुक्त गरे।
6(अहीमेलेकका छोरा अबियाथार कीलाहमा दाऊदकहाँ भागेको बेलामा एपोद आफ्नो साथ लिएर आएका थिए।)
7दाऊद कीलाहमा गएका छन् भनी कसैले शाऊललाई भनिदियो, र शाऊलले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको रहेछ, किनभने गजबारहरू भएको, पर्खालले घेरिएको सहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ।”
8अनि शाऊलले आफ्ना सबै सैन्य-दललाई कीलाह आक्रमण गरेर दाऊद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे।
9तिनको विरुद्धमा गर्न लागेको षड्यन्त्रको युक्ति जब दाऊदले बुझे तब तिनले अबियाथार पूजाहारीलाई एपोद ल्याउन अह्राए।
10तब तिनले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, शाऊल कीलाहमा आएर मेरो कारण त्यस सहरलाई नाश गर्ने विचार गर्दैछन् भन्ने समाचार तपाईंको दासले सुनेको छ।
11के कीलाहका नगरवासीहरूले मलाई उनको हातमा सुम्पिदिनेछन्? मैले सुनेझैँ, के शाऊल आउनेछन्? परमप्रभु इस्राएलका परमेश्वर, बिन्ती छ, आफ्नो दासलाई बताइदिनुहोस्।”
12फेरि दाऊदले सोधे, “के कीलाहका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पिदिनेछन्?”
13यसकारण दाऊदले आफ्ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्यो तब उनी त्यहाँ अगि बढ़ेनन्।
14दाऊद उजाड़-स्थानका गढ़ीहरू र जीपको मरुभूमिका पहाड़हरूमा बसिरहे, र शाऊलले तिनलाई दिनदिनै खोज्दथे। तर परमेश्वरले दाऊदलाई उनको हातमा सुम्पिदिनुभएन।
15जब दाऊद जीपको मरुभूमिको होरेशमा थिए, शाऊलले तिनको प्राण लिन निस्केर आएका छन् भनी तिनले थाहा पाए।
16तब शाऊलका छोरा जोनाथन त्यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए।
17उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।”
18ती दुईले परमप्रभुको सामु वाचा बाँधे। त्यसपछि जोनाथनचाहिँ आफ्नो घरमा फर्के, तर दाऊद होरेशमा नै बसे।
19जब शाऊल गिबामा थिए, तब जीपीहरूले यो समाचार उनीकहाँ ल्याए, “हामी सुन्दछौं कि दाऊद यशीमोनको दक्षिणतिरका हकीलाको पहाड़मा भएको होरेशका गढ़ीहरूमा लुकिरहेका छन्।
20अब हजूरलाई जहिले इच्छा लाग्छ तहिले तल झर्नुहोस्, र तिनलाई तपाईंको हातमा सुम्पिदिने जिम्मा हाम्रो हुनेछ।”
21शाऊलले भने, “परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, किनभने तिमीहरूलाई मेरो चासो छ।
22अब गएर अरू तयारी गर, र त्यो कहाँ छ र कसले त्यसलाई देख्यो सो ठीक पत्ता लगाओ। त्यो धूर्त छ अरे।
23त्यो कुनचाहिँ लुक्ने ठाउँमा छ सो पत्ता लगाओ, र निश्चित खबर लिएर मकहाँ आओ। तब म तिमीहरूसँग जानेछु। त्यो यस देशमा रहुञ्जेल यहूदाको खलकहरूको एक-एककहाँ जानुपरेता पनि म त्यसलाई खोजेर निकाल्नेछु।”
24उनीहरू ढिलो नगरी शाऊलभन्दा अगि जीपतिर लागे। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणतिरका अराबाको माओनको मरुभूमिमा थिए।
25शाऊल र उनका मानिसहरूले खोज्न थाले, र जब दाऊदले यो कुरो थाहा पाए तब पहरातिर गए र यशीमोनको दक्षिणपट्टि माओनको मरुभूमिमा रहन लागे। जब शाऊलले यो थाहा पाए, उनी दाऊदको खोजीमा माओनको उजाड़ ठाउँतिर लागे।
26शाऊल डाँड़ाको उतापट्टि अनि दाऊद र तिनका मानिसहरू यतापट्टि भए। दाऊद र तिनका मानिसहरू भाग्नलाई भरसक कोशिश गरिरहेका थिए। जब शाऊल र उनका पछि लागेकाहरूचाहिँ तिनलाई पक्रनलाई नजिक-नजिक आए,
27तब एक समाचारवाहकले शाऊलकहाँ यो समाचार ल्यायो, “झट्टै आउनुहोस्। किनकि पलिश्तीहरूले देशलाई लूटपीट गर्दैछन्।”
28यसैले शाऊल दाऊदलाई खेद्न छोड़ेर पलिश्तीहरूको सामना गर्नलाई फर्के। यसैकारण त्यस ठाउँलाई सेलाहामालेकोथ भन्दछन्।
29त्यहाँबाट दाऊद उक्लेर एन-गदीका गढ़ीहरूमा बस्न लागे।