1दाऊदले यस्तो विचार गरे, “एक न एक दिन त शाऊलले मलाई मार्नेछन्। यसकारण पलिश्तीहरूको इलाकामा भागिजान मेरो लागि असल होला। तब इस्राएलको कुनै पनि ठाउँमा खोज्न शाऊलले छोड्नेछन्, र म उनको पन्जाबाट उम्कनेछु।”
2यसैले दाऊद र तिनका छ सय जना मानिसहरू सिमाना पार गरेर गातका राजा माओकका छोरा आकीशकहाँ गए।
3दाऊदले आफूसँग आफ्ना मानिसहरू, तिनीहरूका परिवार र तिनकै दुई पत्नी, अर्थात् यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेललाई लिएर आकीशसँग गातमा बस्न लागे।
4दाऊद गातमा भागेर गएका छन् भनी जब शाऊललाई सुनाइयो, उनले दाऊदलाई खोज्न छोड़िदिए।
5दाऊदले आकीशलाई भने, “तपाईंको निगाह ममाथि भए तपाईंका देशको कुनै एउटा गाउँमा बसोबास गर्न मलाई ठाउँ दिनुहोस्। म किन तपाईं महाराजासित राजधानीमा बस्नू?”
6यसकारण आकीशले त्यस दिन तिनलाई सिक्लग दिए, त्यो अझै पनि यहूदाका राजाहरूको भएको छ।
7दाऊद पलिश्तीहरूको देशमा एक वर्ष चार महिनासम्म बसे।
8दाऊद र तिनका मानिसहरू आक्रमण गर्नलाई निस्कन्थे, र गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटपीट गर्थे। (उनीहरू प्राचीनकालदेखि शूर र मिश्रदेशसम्मैका बासिन्दा भएर बसेका थिए।)
9जब दाऊदले कुनै देश लूटपीट गर्थे तब तिनले पुरुष अथवा स्त्री कसैलाई पनि जीवित राख्दैनथे। तिनले भेड़ाबाख्रा र गाई-गोरुका बथान, गधा र ऊँट र लुगाफाटाहरू पनि लगेर फेरि आकीशकहाँ फर्केर आउँथे।
10आकीशले तिनलाई “आज तिमीले कहाँ लूटपीट गर्यौ?” भनी सोध्थे। तिनी भन्थे, “यहूदाको नेगेव देशमा” अथवा “यरहमेलीहरू वा केनीहरूको नेगेव देशमा।”
11दाऊदले कुनै पुरुष वा स्त्रीलाई जिउँदै गातमा ल्याउँदैनथे, किनभने तिनले यस्तो विचार गर्थे कि उनीहरूले “दाऊदले यस्तो गरेका छन्” भनी खबर दिन्छन् होला। पलिश्तीहरूसँग बसुञ्जेल तिनको चाल यस्तै थियो।
12“आफ्ना जाति इस्राएलीहरूमा खराब नाउँ कमाएकोले दाऊद आफ्नो जीवनभरि नै मेरो सेवक भएर बस्नेछ” भनी आकीशले दाऊदमाथि विश्वास गरेका थिए।