1तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिक्लगमा पुगे। त्यस बेला अमालेकीहरूले नेगेव र सिक्लग लूटपीट गरेका थिए। सिक्लगमा आक्रमण गरेर उनीहरूले त्यसलाई आगो लगाइदिएका थिए।
2उनीहरूले स्त्रीहरू र त्यसमा भएका साना-ठूला सबै जनालाई नमारीकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अगिअगि लाउँदैगएका थिए।
3जब दाऊद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले सहरलाई आगोले भस्म पारेको र तिनीरूहका पत्नीहरू र छोराछोरीहरूलाई लगिसकेका देखे।
4यसर्थ दाऊद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।
5दाऊदका दुवै पत्नी, यिजरेल अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेल पनि कैदमा लगिएकाहरूमध्ये थिए।
6आ-आफ्ना छोराछोरीहरू लगिएका हुनाले मानिसहरूले दु:ख मानेर दाऊदलाई ढुङ्गाले हान्ने धम्की दिन लागे। दाऊद अन्योलमा परे। तब दाऊदले परमप्रभु आफ्ना परमेश्वरबाट बल पाए।
7तब दाऊदले अहीमेलेकका छोरा पूजाहारी अबियाथारलाई एपोद ल्याउने हुकुम गरे, र अबियाथारले त्यो ल्याए।
8तब दाऊदले परमप्रभुलाई सोधे, “के म यी लूटपीट गर्नेहरूलाई खेदूँ? के म उनीहरूलाई भेट्टाउन सकूँला?”
9तब दाऊद र तिनका छ सय जना मानिसहरू हिँड़े, र बसोरको खोल्सोसम्म पुगे।
10तिनीहरूमध्येका दुई सय जना, जो खोल्सा पार गर्नलाई साह्रै थाकेका थिए, पछि नै बसे। दाऊद चार सय जनालाई लिएर खेद्न लागे।
11मैदानमा तिनीहरूले एक जना मिश्रीलाई भेट्टाए, र त्यसलाई दाऊदकहाँ ल्याए। तिनीहरूले त्यसलाई खानेकुरा र पानी दिए—
12एक डल्लो नेभारा र दुई झुप्पा किशमिश। यी खाइसकेपछि त्यसको शक्ति आयो, किनभने त्यसले तीन दिन तीन रात केही खाएको-पिएको थिएन।
13दाऊदले त्यसलाई सोधे, “तँ कसको होस्? तँ कहाँबाट आएको होस्?”
14हामीले यहूदाको केही भाग, कालेबको नेगेव र करेतीहरूको नेगेव लूटपीट गर्यौं, अनि सिक्लगलाई आगो लगाइदियौं।”
15दाऊदले भने, “के तँ मलाई त्यस दलकहाँ बाटो देखाउन सक्छस्?”
16तब त्यसले बाटो देखाउँदै दाऊदलाई तल लग्यो। त्यहाँ अमालेकीहरू चारैतिर तितरबितर भएर खाँदै, पिउँदै र पलिश्ती र यहूदाका इलाकाहरूबाट लुटेका माल थुप्रिएकोमा हर्ष मनाउँदै थिए।
17दाऊदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकीसम्म लड़ाइँ गरे। उनीहरूमध्ये केवल चार सय जवान मानिसहरू ऊँटमा चढ़ेर भागे।
18अमालेकीहरूले लगेका सबै जनालाई, तिनका दुई पत्नीहरूसमेत दाऊदले छुटाए।
19साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्नै निम्ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्त गरे।
20तिनले भेड़ाबाख्रा, गाई-गोरु सबै लिए, अनि तिनका मानिसहरूले अरू बथानका अगिअगि ती धपाउँदै लगे र भने, “यो दाऊदको लूट हो।”
21तब दाऊद बसोरको खोल्सोमा बिसाउने ती दुई सय अघि थाकिसकेका मानिसहरूकहाँ आए। तिनीहरू तिनलाई र तिनका मानिसहरूलाई भेट्न आए। दाऊदले तिनीहरू सबैलाई अभिवादन गरे।
22तर दाऊदसँग भएका कति जना दुष्ट र गोलमाल मच्चाउने मानिसहरूले बीचैमा कुरा काटी तिनलाई भने, “यी मानिसहरू हामीसँग गएनन्। हामीले फिर्ता ल्याएका लूटका मालबाट हामी तिनीहरूलाई केही पनि भाग लाउनेछैनौं, केवल तिनीहरूले आ-आफ्ना पत्नी र छोराछोरी लैजाऊन्।”
23दाऊदले भने, “परमेश्वरले हामीलाई रक्षा गर्नुभयो, यी सब दिनुभयो, र दुश्मनहरूलाई हाम्रा हातमा दिनुभयो। अब उहाँले दिनुभएका चीजहरूसँग त्यसो गर्नेछैनौं।
24तिनीहरूले गरेको प्रस्तावमा को सहमत हुन्छ? मालसामान हेर्न बसेकाहरूले लड़ाइँमा जानेहरूकै बराबर हिस्सा पाउनेछन्। सबैले बराबर हिस्सा पाउनेछन्।”
25त्यस बेलादेखि उसो आजको दिनसम्म दाऊदले दिएको यही नियम इस्राएलमा चलिआएको छ।
26जब दाऊद सिक्लगमा आइपुगे, तब तिनले लूटका केही माल आफ्ना मित्रहरू, यहूदाका धर्म-गुरुहरूलाई यसो भनेर पठाए, “परमप्रभुका शत्रुहरूबाट लिएका लूटका मालदेखि यी तपाईंहरूका निम्ति सौगात हुन्।”
27तिनले बेथेलमा, रामोत-नेगेवमा, यत्तीरमा,
28अरोएरमा, सिपमोतमा, एश्तमोमा,
29राकालमा भएकाहरूलाई, यरहमेली र केनीका सहरहरूमा भएकाहरूलाई,
30होर्मामा, बोर-आशानमा, अत्ताकमा,
31हेब्रोनमा भएकाहरूलाई, र ती अरू सबै ठाउँहरूमा पठाए, जहाँ दाऊद र तिनका मानिसहरूले धेरैजसो चढ़ाइ गरेका थिए।