1अनि शमूएलको वचन इस्राएलभरि नै आयो। यतिखेर इस्राएलीहरू पलिश्तीहरूसित युद्ध गर्नलाई अगि बढ़े। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले अपेकमा छाउनी हाले।
2पलिश्तीहरूले इस्राएलको सामुन्ने आफ्ना पङ्क्ति बाँधे, र जब तिनीहरूका बीचमा लड़ाइँ भयो तब इस्राएलीहरू पलिश्तीहरूद्वारा पराजित भए, अनि तिनीहरूका चार हजार मानिसहरू रणभूमिमा मारिए।
3सेना छाउनीमा फर्केर आएपछि इस्राएलका धर्म-गुरुहरूले सोधे, “आज परमप्रभुले हामीलाई किन पलिश्तीहरूद्वारा पराजित गराउनुभयो? उहाँ हामीसँग जाऊन् र हामीलाई हाम्रा शत्रुहरूको हातबाट मुक्त गराऊन् भनेर हामी परमप्रभुका करारको सन्दूक शीलोबाट ल्याऔं।”
4यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र सर्वशक्तिमान् परमप्रभु, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, उहाँका करारको सन्दूक तिनीहरूले ल्याए। एलीका दुई छोरा, होप्नी र पीनहास, त्यहाँ सन्दूकको साथमा थिए।
5जब सन्दूक छाउनीमा ल्याइयो तब सारा इस्राएलीहरूले यति ठूलो सोरले कराए कि पृथ्वी नै काम्यो।
6पलिश्तीहरूले त्यो सोर सुने, र सोधे, “हिब्रूहरूको छाउनीमा भएको त्यो ठूलो हल्ला के हो?”
7तब उनीहरूले डराएर भने, “देवताहरू छाउनीमा आएछन्।
8हाम्रो त सर्वनाश भयो! यस्तो त पहिले कहिल्यै भएको थिएन। हामीमाथि हाय, यस्ता शक्तिशाली देवताहरूका शक्तिबाट हामीलाई कसले छुटाउन सक्नेछ? यी ती नै देवताहरू हुन् जसले मिश्रीहरूलाई विभिन्न महामारीद्वारा उजाड़-स्थानमा ध्वंस बनाए।
9हे पलिश्ती हो, आँटिला होओ, र मर्दझैँ काम गर, नत्रता जस्तो तिनीहरू तिमीहरूका कमारा थिए तिमीहरू पनि तिनीहरूका कमारा हुनेछौ। मर्दझैँ लड़ाइँ गर।”
10यसर्थ पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर आ-आफ्नो पालमा भागे। त्यो ठूलो हार थियो, र तीस हजार इस्राएली पैदल-सिपाहीहरू नष्ट भए।
11परमेश्वरको सन्दूक कब्जा गरियो, अनि एलीका दुवै छोरा, होप्नी र पीनहास मरे।
12त्यसै दिन रणभूमिबाट आफ्नो लुगा च्यातिएको एउटा बेन्यामीनी टाउकोभरि धूलैधूलो लिएर शीलोमा दौड़ेर पुग्यो।
13त्यो आइपुग्दा एली बाटोको छेउमा आफ्नो आसनमा बसेर हेरिरहेका थिए, किनभने परमेश्वरका सन्दूकको कारण उनी साह्रै विचलित भएका थिए। समाचार लिएर त्यो मानिस सहरभित्र पस्यो, र जब त्यसले जे भएको थियो सबै भन्यो तब पूर्ण सहरले नै चीत्कार गरे।
14जब एलीले त्यो सुने तब उनले भने, “यो केको हल्लाखल्ला हो?”
15एली त्यस बेला अन्ठान्नब्बे वर्ष पुगेका थिए, र आँखा देख्दैनथे।
16तब त्यस मानिसले उनलाई भन्यो, “म लड़ाइँबाट भर्खरै आएको हुँ। आजै म रणभूमिबाट भागेर आएको छु।”
17त्यो समाचार ल्याउने मानिसले जवाफ दियो, “इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे। सेनामा ठूलो विनाश भएको छ। तपाईंका दुवै छोरा, होप्नी र पीनहास मारिए, र परमेश्वरको सन्दूक पनि खोसियो।”
18परमेश्वरका सन्दूकको विषयमा सुन्ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्तिर लड़े, र उनको घाँटी भाँचिएर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी चालीस वर्षसम्म इस्राएलका अगुवा भएका थिए।
19उनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिई, र बालक जन्मने समय भइसकेको थियो। जब त्यसले परमेश्वरको सन्दूक कब्जा गरेर लगेको र आफ्ना ससुरा र पति मरेका थाहा पाई तब त्यति नै बेला थुचुक्क बसेर त्यसले बालक जन्माई। तर त्यसको प्रसववेदनाले गर्दा त्यो ग्रस्त भई।
20जब त्यो मर्नै लागेकी थिई तब त्यसलाई स्याहार्ने स्त्रीहरूले भने, “हरेस नखाऊ, तिम्रो एक जना छोरो भयो।” तर तिनीहरूले भनेको कुराको त्यसले जवाफ दिइन, त्यसले ध्यानै दिइन।
21त्यसले यसो भनेर बालकको नाउँ ईकाबोद
22“इस्राएलबाट महिमा हरायो, किनभने परमेश्वरको सन्दूक खोसिएको छ,” त्यसले भनी।