२ इतिहास 1:1-17 NNRV2012 - Bible AI

1दाऊदका छोरा राजा सोलोमनले आफ्‍नो राज्‍यमा अधिकार स्‍थिर गरे, किनभने परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो। उहाँले तिनलाई महान्‌ तुल्‍याउनुभयो।

2तब सोलोमनले सबै इस्राएलसित, अर्थात्‌ सहस्रपति र शतपति, न्‍यायकर्ताहरू र इस्राएलका सारा अगुवाहरू र परिवारका मुखियाहरूसित बातचीत गरे।

3अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि परमेश्‍वरका दास मोशाले उजाड़-स्‍थानमा बनाएको परमेश्‍वरको भेट हुने पाल त्‍यहीँ थियो।

4दाऊदले चाहिँ परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा ल्‍याएका थिए, किनभने तिनले यरूशलेममा नै त्‍यसको निम्‍ति पाल टाँगेका थिए।

5तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो। यसैकारण सोलोमन र सबै समुदाय त्‍यहीँ गए।

6त्‍यहाँ भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीसम्‍म तिनी गएर त्‍यसमा एक हजार होमबलि चढ़ाए।

7त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्‌।”

8सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान्‌ र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ।

9अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्‍का गर्नुहोस्, किनभने पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती प्रजामाथि तपाईंले मलाई राजा तुल्‍याउनुभएको छ।

10अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्‍छ र?”

11परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “तेरो इच्‍छा यही भएको हुनाले, र तैंले धन-सम्‍पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्‍ना शत्रुहरूको प्राण वा आफ्‍नो निम्‍ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्‍याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले,

12बुद्धि र ज्ञान तँलाई दिइनेछन्‌। अनि म तँलाई यस्‍तो धन-सम्‍पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्‌।”

13तब सोलोमन गिबोनको अल्‍गो स्‍थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे।

14सोलोमनले धेरै रथ र घोड़ाहरू जम्‍मा गरे। तिनका चौध सय रथ र बाह्र हजार घोड़ाहरू थिए। कोही तिनले रथ राख्‍ने सहरहरूमा र कोहीचाहिँ आफूसित यरूशलेममा राखे।

15राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह अनि देवदारुचाहिँ पहाड़का अञ्‍जीरसरह प्रशस्‍त तुल्‍याए।

16सोलोमनका घोड़ाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी हुन्‍थे। राजाका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे।

17प्रत्‍येक रथ सात किलोग्राम चाँदीमा र घोड़ाचाहिँ डेढ़ किलोग्राम चाँदीमा मिश्रबाट पैठारी गरिन्‍थे। त्‍यसरी नै हित्ती र अरामीहरूका सबै राजाहरूलाई निकासी गर्न व्‍यापारीहरूले प्राप्‍त गर्थे।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>