1राजा यारोबामको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए।
2तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्।
3अबियाले युद्धको निम्ति चार लाख वीर योद्धाहरू जम्मा गरे, अनि यारोबामले चाहिँ तिनको विरुद्धमा आठ लाख योद्धाहरूको फौज तयार गरे।
4अबिया एफ्राइमको पहाड़ी देशमा भएको समारैम डाँड़ामा उभिएर यसो भनी कराए, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!
5के तिमीहरूलाई थाहा छैन, कि परमप्रभु इस्राएलका परमेश्वरले नूनको सोझो हुने करारद्वारा सधैँको निम्ति दाऊद र तिनका सन्तानलाई इस्राएलमाथि शासन गर्न राज्य दिनुभएको हो?
6तापनि दाऊदका छोरा सोलोमनका अधिकारी नबातका छोरा यारोबाम आफ्ना मालिकको विरुद्धमा बागी भयो।
7केही बेकम्मा बदमाशहरू त्यसको साथमा लागे, र तिनीहरू सोलोमनका छोरा रहबाम कलिलै र अनुभव नभएका देखेर जिद्दी गरेर तिनको विरुद्धमा उठे। त्यस बेला रहबाम तिनीहरूलाई विरोध गर्न सक्ने थिएनन्।
8“अब तिमीहरू दाऊदका सन्तानहरूका हातमा भएको परमप्रभुका राज्यको विरुद्धमा खड़ा हुनलाई विचार गर्दछौ। तिमीहरू साँच्चै एउटा ठूलो सेना छौ, र तिमीहरूका देवता हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग छन्।
9तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पूजाहारीहरू र लेवीहरूलाई निकालेर अरू देशको दस्तूरझैँ आफ्नै पूजाहारीहरूलाई नियुक्त गरेका छैनौ र? यदि कुनै मानिस आफैलाई अर्पण गर्नलाई एउटा बाछो र सात वटा भेड़ा लिएर आयो भने, तिमीहरू त्यसलाई त्यस ईश्वरको पूजाहारी भनी ग्रहण गर्छौ जो ईश्वर होइन।
10“तर हाम्रा निम्ति चाहिँ परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ, अनि हामीले उहाँलाई त्यागेका छैनौं। परमप्रभुको सेवा गर्ने पूजाहारीहरूचाहिँ हारूनका छोराहरू हुन्, अनि लेवीहरूले तिनीहरूलाई सहायता दिन्छन्।
11तिनीहरू बिहान र बेलुका होमबलि र सुगन्धित धूप परमप्रभुको निम्ति चढ़ाउँछन्। तिनीहरूले भेटीको रोटी विधिअनुसार पवित्र गरिएको टेबिलमा लहर-लहर गरी राख्तछन्। तिनीहरू बेलुकैपिच्छे सुनको सामदानमा भएका बत्तीहरू बाल्दछन्। यसरी परमप्रभु हाम्रा परमेश्वरले आज्ञा दिनुभएका कुरा हामी साँच्ची नै पालन गर्छौं। तर तिमीहरूले त उहाँलाई त्यागेका छौ।
12परमेश्वर हाम्रा शिर भएर हामीलाई साथ दिनुहुन्छ। उहाँका पूजाहारीहरू तिमीहरूका विरुद्धमा युद्ध-ध्वनिको सङ्केत दिनलाई तुरही लिएर खड़ा हुनेछन्। हे इस्राएलीहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा युद्ध नगर। तिमीहरू सफल हुनेछैनौ।”
13यारोबामले आफ्नो फौजको एक दल पछिल्तिर गएर ढुकिबस्नलाई पठाएका थिए, र तिनको मुख्य सेनाले चाहिँ यहूदाको सामना गर्यो।
14जब यहूदाका मानिसहरूले फर्केर हेरे, तब तिनीहरूले लड़ाइँ आफ्नो अघि र पछि दुवैतिर रहेछन् भनी देखे। तब तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे। पूजाहारीहरूले आफ्ना तुरही फुके, र यहूदाका मानिसहरूले चिच्च्याएर कराए।
15तिनीहरूले त्यसो गर्दा परमेश्वरले यारोबाम र सबै इस्राएलीहरूलाई अबिया र यहूदाको सामुन्ने परास्त गर्नुभयो।
16इस्राएलीहरू यहूदाका मानिसहरूका सामुन्नेबाट भागे, र परमेश्वरले इस्राएलीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो।
17यसरी अबिया र तिनका मानिसहरूले इस्राएलीहरूलाई धेरै खतिको साथमा जिते, र इस्राएलका पाँच लाख वीर योद्धाहरू लड़ाइँमा मारिए।
18त्यस बेला इस्राएलीहरू पराजित भए, र यहूदाका मानिसहरू विजयी भए, किनभने तिनीहरूले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरमाथि भरोसा गरेका थिए।
19अबियाले यारोबामलाई खेदे, र तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनका बस्तीसमेत अबियाले कब्जा गरे।
20अबियाको पालोमा यारोबामले आफ्नो शक्ति फेरि प्राप्त गर्न सकेनन्। आखिरमा परमप्रभुले तिनलाई प्रहार गर्नुभयो, र तिनी मरे।
21तर अबियाले आफ्नो स्थान स्थिर गरे। तिनले चौध जना पत्नी ल्याए, र तिनी बाईस छोरा र सोह्र छोरीहरूका पिता भए।
22अबियाको राजकालका अरू घटनाहरू, तिनले गरेका कार्यहरू र तिनले भनेका वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्।