1सोलोमनले परमप्रभुका नाउँको सम्झनाको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्ने अठोट गरे।
2तिनले सत्तरी हजार भारी बोक्नेहरू, असी हजार ढुङ्गा काट्नेहरू र तिनीहरूमाथि हेर-विचार गर्ने छत्तीस सय नाइकेहरूलाई नियुक्त गरे।
3सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए:
4अब मैले पनि परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न र उहाँको सामुन्ने सुगन्धित धूप बाल्न, र अर्पण गरिएको रोटी नित्य लहर-लहर गरी राखेर चढ़ाउन, अनि बिहान, बेलुकी, शबाथ, औंसीको चाड़ र परमप्रभु हाम्रा परमेश्वरका तोकिएका चाड़हरूमा बलि चढ़ाउन त्यो मन्दिर उहाँको निम्ति समर्पण गर्न लागेको छु। इस्राएलको निम्ति यो एउटा अनन्तको विधि हो।
5“मैले निर्माण गर्न लागेको मन्दिर एउटा अत्यन्तै ठूलो भवन हुनेछ, किनभने हाम्रा परमेश्वर सबै देवताहरूभन्दा महान् हुनुहुन्छ।
6तर स्वर्ग, अर्थात् सर्वोच्च स्वर्ग नै उहाँको निम्ति सानो छ भने कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढ़ाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र?
7“यसकारण मेरो निम्ति एक निपुण कारीगर पठाइदिनुहोस्— एउटा यस्तो मानिस जसले सुन, चाँदी, काँसो र फलाम, अनि बैजनी, रातो र नीलो धागोको काम गर्न सक्छ, र तिनी निपुण कुँद्ने मानिस पनि होऊन्। तिनले मेरा पिता दाऊदले जुटाइदिनुभएका निपुण कारीगरहरूसँग यहूदा र यरूशलेममा काम गर्नेछन्।
8“मलाई लेबनानबाट देवदारु, सल्ला र चन्दनका काठहरू पनि पठाइदिनुहोस्, किनभने मलाई थाहा छ कि तपाईंका मानिसहरू लेबनानमा काठहरू काट्न निपुण छन्।
9मेरा मानिसहरू तपाईंका मानिसहरूसँग धेरै काठ तयार गर्न काम गर्नेछन्, किनभने जुन मन्दिर म निर्माण गर्नेछु, त्यो भव्य आश्चर्यको हुनेछ।
10म तपाईंका कर्मीहरू, अर्थात् रूख ढाल्नेहरूका निम्ति पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी भद्राक्षको तेल जुटाइदिनेछु।”
11टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई यो समाचार पठाए:
12पत्रमा हीरामले यस्तो पनि लेखे:
13“अब म तपाईंको निम्ति एक जना निपुण र खूबै अनुभवी कारीगर, हुराम-अब्बीलाई पठाउँदैछु।
14तिनी दानवंशी स्त्रीका छोरा हुन्। तिनका पिताचाहिँ एक टुरोसवासी हुन्। तिनी सुन र चाँदी, काँसो र फलाम, ढुङ्गा र काठका काम र बैजनी, रातो र नीलो धागो र मलमलका कपड़ाका काममा पनि अनुभवी कारीगर हुन्। तिनी बुट्टाका काममा तालीम पाएका मानिस हुन्, र तिनलाई दिएको कुनै पनि नमूनाको काम गर्न सक्छन्। तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्वामी तपाईंका पिता दाऊदका कारीगरहरूका साथमा काम गर्नेछन्।
15“यसकारण अब मेरा स्वामीले आफ्ना चाकरहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्।
16तपाईंलाई चाहिएका सबै काठ हामी लेबनानमा ढाल्नेछौ, र मूढ़ाहरू बाँधेर योप्पासम्म बगाएर पठाइदिनेछौं। तपाईंले चाहिँ त्यहाँबाट यरूशलेमसम्म लाने बन्दोबस्त मिलाउनुहोला।”
17आफ्ना पिता दाऊदले मानिसहरूको जनगणना लिएझैँ सोलोमनले इस्राएलमा बस्ने विदेशीहरूको जनगणना लिए। यिनीहरू १,५३,६०० जना थिए।
18तिनले यिनीहरूमध्येका सत्तरी हजारलाई भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने र यिनीहरूलाई काममा लगाउन छत्तीस सयलाई चाहिँ हेर-विचार गर्ने काममा नियुक्त गरे।