२ इतिहास 27:1-9 NNRV2012 - Bible AI

1योताम राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ सादोककी छोरी यरूशा थियो।

2तिनका पिता उज्‍जियाहले झैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे, तर आफ्‍ना पिताझैँ तिनी परमप्रभुको मन्‍दिरमा पसेनन्‌। तापनि मानिसहरूचाहिँ आफ्‍ना दुष्‍ट चालमा लागिरहे।

3तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको पुनर्निर्माण गरे, र आफैले डाँड़ाको पर्खाल खूब मरम्‍मत गरिदिए।

4तिनले यहूदाको पहाड़ी देशमा सहरहरू बनाए, र वनका डाँड़ाहरूमा किल्‍ला र धरहराहरू बनाए।

5योतामले अम्‍मोनीहरूका राजासँग युद्ध गरेर उनलाई परास्‍त गरे। अनि त्‍यस वर्ष अम्‍मोनीहरूले तिनलाई साढ़े तीन टन चाँदी, पच्‍चीस हजार मुरी गहूँ र पच्‍चीस हजार मुरी जौ दिए। उनीहरूले दोस्रो र तेस्रो वर्ष पनि त्‍यहीबमोजिम कर तिरे।

6परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने आफ्‍नो चाल ठीक राखेकाले गर्दा योताम अत्‍यन्‍त शक्तिशाली भए।

7योतामको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै युद्ध र अरू काम इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌।

8तिनी राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे।

9तिनी आफ्‍ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आहाज राजा भए।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>