1तब सोलोमनले तिनका पिता दाऊदले परमप्रभुको दर्शन पाएर यबूसी अरौनाको खलामा एउटा स्थान तयार पारेका यरूशलेमको मोरीयाह डाँड़ामा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे।
2तिनले आफ्नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्यो निर्माण गर्न सुरु गरे।
3परमेश्वरको मन्दिर निर्माण गर्न सोलोमनले राखेका जग यस्तो थियो: हातको पुरानो नापअनुसार लमाइ साठी हात र चौड़ाइ बीस हात थियो।
4मन्दिरको अगाड़ि त्यसको चौड़ाइ जत्तिकै बीस हात लामो र बीस हात अल्गो एउटा दलान थियो।
5तिनले मुख्य सभाकक्षका भित्तामा सल्लाका फलेकहरू लगाए, र तिनलाई निखुर सुनले मोहोरे, अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए।
6त्यसको शोभाको लागि तिनले त्यस मन्दिरलाई बहुमूल्य पत्थरहरूले जड़े। त्यसमा तिनले पर्वेमबाट ल्याएका सुन प्रयोग गरे।
7तिनले त्यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए।
8तिनले मन्दिरको चौड़ाइबमोजिम नै महा-पवित्रस्थान बीस हात लमाइ र बीस हात चौड़ाइको बनाए। तिनले भित्रपट्टि त्यसलाई बीस टन निखुर सुनले मोहोरे।
9सुनका कीलाहरूको ओजन आधा किलोग्राम थियो। तिनले माथिल्ला भागहरू पनि सुनले मोहोरे।
10तिनले महा-पवित्रस्थानमा दुई करूबका प्रतिरूप कुँदेर सुनले मोहोरे।
11यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हातसम्म फिँजिएका थिए। एउटा करूबको एउटा पखेटा पाँच हातको थियो, र मन्दिरको भित्तामा छोयो। त्यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो।
12त्यस्तै गरी दोस्रो करूबको एउटा पखेटा मन्दिरको भित्ता छुने गरी पाँच हातको थियो, अनि त्यसको अर्को पखेटाचाहिँ अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो,
13करूबका पखेटा बीस हातसम्म फिँजिएका थिए। तिनीहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्दिरको मुख्य खण्डतिर फर्केका थिए।
14तिनले नीलो, बैजनी र रातो रङ्गको धागो र मलमलको कपड़ाको पर्दा बनाए, र त्यसमा बुट्टा भरेका करूबहरू बनाए।
15मन्दिरको अगाड़िपट्टि तिनले अठार-अठार हात अल्गा दुई वटा स्तम्भ बनाए। प्रत्येकको टुप्पामा पाँच हात अल्गो स्तम्भ-शिर थियो।
16तिनले जाली स्वरूप झुण्डिएका सिक्रीहरू बनाएर स्तम्भका टुप्पा-टुप्पामा राखे। तिनले सय वटा दारिम बनाएर ती सिक्रीहरूमा लगाए।
17तिनले मन्दिरको अगाड़ि ती दुई वटा स्तम्भ खड़ा गरे— एउटा दक्षिणपट्टि र अर्को उत्तरपट्टि। दक्षिणपट्टिको स्तम्भको नाउँ तिनले याकीन र उत्तरपट्टिको स्तम्भको नाउँ बोअज राखे।