२ इतिहास 7:1-22 NNRV2012 - Bible AI

1जब सोलोमनले यो प्रार्थना गरिसके तब स्‍वर्गबाट आगो झर्‍यो, र आगोले होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो।

2परमप्रभुको महिमाले उहाँको मन्‍दिर भरिएकोले गर्दा पूजाहारीहरू त्‍यसभित्र पस्‍न सकेनन्‌।

3आगो झरिरहेको र परमप्रभुको महिमा मन्‍दिरमा बसिरहेको जब सबै इस्राएलीहरूले देखे, तब ढुङ्गाको पेटीमा तिनीहरू भूइँसम्‍मै घोप्‍टो परेर दण्‍डवत्‌ गर्दै यसो भनेर परमप्रभुलाई धन्‍यवाद दिए,

3“परमप्रभु भला हुनुहुन्‍छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।”

4तब राजा र सबै मानिसहरूले परमप्रभुको सामुन्‍ने बलिदान चढ़ाए।

5राजा सोलोमनले बाईस हजार साँढ़े र एक लाख बीस हजार भेड़ाबाख्रा बलि चढ़ाए। राजा र सबै मानिसहरूले यसरी परमेश्‍वरको मन्‍दिरलाई समर्पण गरे।

6पूजाहारीहरू र लेवीहरू पनि आफ्‍नो तोकिएको स्‍थानमा खड़ा भए, र दाऊद राजाले परमप्रभुलाई स्‍तुति गर्न र धन्‍यवाद दिनका निम्‍ति बनाएका बाजाहरू लिएर यसरी उनले परमप्रभुको प्रशंसा गरे, “उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” लेवीहरूका सामुन्‍ने पूजाहारीहरूले आ-आफ्‍नो तुरही बजाए। त्‍यस बेला सबै इस्राएलीहरू त्‍यहाँ खड़ा भइरहेका थिए।

7त्‍यसपछि सोलोमनले परमप्रभुका मन्‍दिरको सामुन्‍नेको चोकको मध्‍य भागलाई पवित्र गरे। त्‍यहाँ तिनले होमबलिहरू र मेलबलिहरूको बोसोको भाग चढ़ाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोका भागहरू अटाएनन्‌।

8यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रको खोलासम्‍मको एक ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड़ मान्‍दैरहे।

9आठौँ दिनमा तिनीहरूले सभा राखे, किनभने तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड़चाहिँ अझ सात दिनसम्‍म मानेका थिए।

10सातौँ महिनाको तेईसौँ दिनमा सोलोमनले मानिसहरूलाई आ-आफ्‍नो घरमा जान बिदा गरे, र परमप्रभुले दाऊद र सोलोमन अनि आफ्‍नो प्रजा इस्राएललाई दिनुभएका सबै सुदिनको कारण तिनीहरू मनमा खुशी र आनन्‍द मनाउँदै गए।

11जब सोलोमनले परमप्रभुको मन्‍दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहलको निम्‍ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए,

12तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो:

12“मैले तेरो प्रार्थना सुनें, र यो स्‍थान मेरो निम्‍ति बलिदानको ठाउँ चुनें।

13“जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु,

14यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु।

15अब यस ठाउँमा गरिएका प्रार्थना ध्‍यानसित सुन्‍न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्‌।

16मेरो नाउँ सदासर्वदाको निम्‍ति त्‍यहाँ रहन मैले यस मन्‍दिरलाई चुनेको छु, र त्‍यसलाई पवित्र पारेको छु। मेरो दृष्‍टि र मेरो हृदय सधैँभरि त्‍यहाँ रहनेछ।

17“यदि तँचाहिँ मैले तँलाई दिएका सबै आज्ञाहरू पालन गर्दै र मेरा विधिविधानहरू मान्‍दै तेरा पिता दाऊद मेरो दृष्‍टिमा हिँड़ेझैँ हिँड़िस्‌ भने,

18म तेरो राजकीय सिंहासन स्‍थिर गर्नेछु, जसरी मैले तेरा पिता दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तँलाई एउटै मानिसको पनि अभाव हुनेछैन’।

19“तर यदि मैले तिमीहरूलाई दिएका मेरा विधिहरू र आज्ञाहरू मानेनौ र ती त्‍याग्‍यौ र गएर अरू देवताहरूको सेवा गर्‍यौ र तिनीहरूलाई पुज्‍यौ भने, तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म इस्राएललाई जरैसमेत उखेलिदिनेछु,

20अनि मैले मेरो नाउँको लागि पवित्र गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु। सबै जातिहरूका बीचमा त्‍यसलाई एउटा निन्‍दा र गिल्‍लाको पात्र बनाउनेछु।

21यसरी यो मन्‍दिर ज्‍यादै प्रभावशाली छ, यसलाई देखेर आउनेजाने हरेक मानिस अवाक्‌ भएर यसो भनेर सोध्‍नेछ, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो काम गर्नुभयो?’

22मानिसहरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनीहरूले त्‍यागेका छन्, र अरू देवताहरूलाई मानेर तिनको सेवा गर्दै र यिनीहरूलाई पुज्‍दै आलिङ्गन गरेका छन्‌। यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो’।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>