1के फेरि हामी आफ्नै तारीफ गर्न लागेका छौं? के कसै-कसैलाई चाहिएझैँ हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश-पत्र देखाउनुपर्छ र?
2तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ।
3तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्टका पत्र हौ, अर्थात् हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्वरका आत्माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।
4ख्रीष्टद्वारा परमेश्वरप्रति हाम्रो यस्तो भरोसा छ।
5कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ।
6नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ।
7तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्यो व्यवस्था यस्तो महिमामय भएर आयो, कि त्यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्यो तेज हराउँदै जाँदैथियो।
8पवित्र आत्माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला?
9किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्यादै बढ़ी महिमामय हुन्छ।
10किनभने जो एक पल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन।
11किनकि जो बितेर गयो त्यो महिमासाथ आएको थियो भने, स्थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ।
12यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्तै साहसी भएका छौं।
13हामी मोशाजस्तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखून् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे।
14तर तिनीहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यो घुम्टो रहिरहन्छ, जुन घुम्टो ख्रीष्टद्वारा मात्र हटाइन्छ।
15हो, आजसम्म पनि मोशाको पुस्तक पढ्दा तिनीहरूका हृदयमा घुम्टो हालिएको हुन्छ,
16तर जब मानिस प्रभुपट्टि फर्कन्छ, त्यो घुम्टो हटाइन्छ।
17अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।
18हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदैजान्छौं। परमप्रभुबाट यो आउँछ, जो आत्मा हुनुहुन्छ।