1यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं।
2हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्वरको वचनलाई हेरफेर गर्न इन्कार गर्छौं। तर सत्यको वचन खुलस्त गरी घोषणा गर्दै परमेश्वरको दृष्टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्य तुल्याउँछौं।
3हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ।
4तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ।
5हामी आफ्नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रचार गर्दछौं।
6जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस्” भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस्।
7सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ।
8हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं। अन्योलमा परेका छौं, तर हताश भएका छैनौं।
9सताइएका छौं, तापनि त्यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्ट पारिएका छैनौं।
10येशूको जीवन हाम्रा शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्छौं।
11किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्युको मुखैमा परिबस्छौं, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्।
12यसरी मृत्युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा।
13“मैले विश्वास गरें, यसकारण म बोलें” भन्नेकै आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौं, र हामी बोल्छौं।
14हामी जान्दछौं, कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ, र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुन्छ।
15किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदैजान्छ, त्यसरी नै परमेश्वरका महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दैजाओस्।
16यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
17किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ।
18हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।