२ तिमोथी 3:1-17 NNRV2012 - Bible AI

1तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌।

2किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,

3स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,

4विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने,

5भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।

6किनभने तिनीहरूमध्‍ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्‍न मनोभावको कब्‍जामा परेका कमजोर स्‍त्रीहरूलाई आफ्‍ना अधीनमा पार्छन्‌।

7जुन स्‍त्रीहरू सिक्‍न त सधैँ सिक्‍छन्, तर सत्‍यको ज्ञानमा कहिल्‍यै आउन सक्‍दैनन्‌।

8यान्‍नेस र याम्‍ब्रेसले मोशाको विरोध गरेजस्‍तै, यी मानिसहरूले पनि सत्‍यको विरोध गर्छन्‌। यी मानिसहरू भ्रष्‍ट दिमागका र नक्कली विश्‍वासका हुन्‍छन्‌।

9तर तिनीहरू अझ धेरै टिक्‍न सक्‍नेछैनन्, किनकि ती दुई मानिसको जस्‍तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।

10अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्‍वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्‍थिरता देखेका छौ,

11मेरा सतावटहरू र मेरा कष्‍टहरू एन्‍टिओखियामा, आइकोनियनमा र लुस्‍त्रामा ममाथि के पर्न आयो र कस्‍ता-कस्‍ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।

12ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,

13तर दुष्‍ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ दुष्‍ट हुँदैजानेछन्‌।

14तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्‍वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्‍दछौ।

15तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ।

16सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

17ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>