२ पत्रुस 1:1-21 NNRV2012 - Bible AI

1येशू ख्रीष्‍टको दास र प्रेरित सिमोन पत्रुसबाट, [1] र हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकतामा हाम्रो जस्‍तै अनमोल विश्‍वास प्राप्‍त गर्नेहरूलाई:

2परमेश्‍वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्‍ति तिमीहरूमा प्रशस्‍त हुँदैजाओस्‌।

3आफ्‍नो महिमा र श्रेष्‍ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्‍वरको दिव्‍य शक्तिद्वारा जीवन र भक्तिको निम्‍ति हामीलाई चाहिने प्रत्‍येक थोक उहाँले दिनुभएको छ।

4यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान्‌ प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावका सहभागी होओ।

5यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप,

6ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति,

7भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप।

8किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌।

9किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ।

10यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ।

11किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्‍त राज्‍यभित्र तिमीहरूलाई भव्‍य स्‍वागतसाथ प्रवेश मिल्‍नेछ।

12यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्‍झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्‍दछौ, र तिमीहरूमा भएको सत्‍यतामा तिमीहरू स्‍थिर छौ।

13जबसम्‍म म यस शरीरमा छु, तिमीहरूलाई सम्‍झना गराउँदै सचेत पार्नु म उचित ठान्‍छु।

14किनभने म जान्‍दछु, हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई देखाइदिनुभएको छ कि मेरो यो शरीर त्‍याग्‍ने बेला चाँड़ै नै आइरहेछ।

15मेरो मृत्‍युपछि पनि तिमीहरूले यी कुराहरू कुनै पनि समय सम्‍झन सक भनी म प्रयत्‍न गर्नेछु।

16किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्ततासँग रचिएका दन्‍त्‍यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभव प्रत्‍यक्ष देख्‍ने हामी साक्षी हौं।

17उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब त्‍यस तेजस्‍वी महिमाबाट एउटा वाणी निस्‍किआयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु।”

18त्‍यस पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्‍वर्गबाट आएको त्‍यो वाणी हामी आफैले सुनेका थियौं।

19हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्‍चित भएको छ। झिसमिसे उज्‍यालो नहोउञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्‍जेल अन्‍धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्‍यस वचनलाई ध्‍यान दियौ भने असल गर्नेछौ।

20सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्दछ, कि पवित्रधर्मशास्‍त्रको कुनै अगमवाणी व्‍यक्तिगत व्‍याख्‍याको विषय होइन।

21किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>