२ पत्रुस 3:1-18 NNRV2012 - Bible AI

1प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्‍कपट मनलाई उत्‍साहित गराएको छु,

2कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्‍झनुपर्छ।

3सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्छ, कि पछिल्‍ला दिनहरूमा गिल्‍ला गर्नेहरू गिल्‍ला गर्दै, तिनीहरूका आफ्‍नै अभिलाषामा यसो भन्‍दै आउनेछन्,

4“उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्‍टिको सुरुदेखि चलिआएजस्‍तै आज पनि छँदैछ।”

5जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्‍ता गर्दैनन्, कि परमेश्‍वरको वचनद्वारा स्‍वर्गहरू अघिदेखि नै थिए, र पृथ्‍वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो।

6त्‍यही पानीबाट त्‍यस समयको संसार जलप्रलयमा डुबेर नष्‍ट भयो।

7तर त्‍यही वचनले भक्तिहीन मानिसको इन्‍साफ र विनाशका दिनसम्‍मको लागि अहिलेको आकाश र पृथ्‍वी आगोको निम्‍ति साँचिराखिएका छन्‌।

8तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ।

9आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

10तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌।

11यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ?

12तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌।

13तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ।

14यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्‍टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्‍तिमा बस्‍नेहरू हुन प्रयत्‍न गर।

15हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे।

16उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्‍लेख गरेका छन्‌। तिनमा कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्‍त्रहरूलाई जस्‍तै उल्‍टापाल्‍टा पार्छन्, र आफ्‍नै विनाश ल्‍याउँछन्‌।

17यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्‍ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्‍नो स्‍थिरता नगुमाओ।

18तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्‌। आमेन।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>