1एल्डरबाट, चुनिएकी महिला र तिनका छोरा-छोरीहरूलाई, जसलाई म साँचो प्रेम गर्दछु, र मैले मात्र होइन, तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गर्छन्।
2जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं।
3परमेश्वर पिता र पिताका पुत्र येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ।
4तिम्रा छोरा-छोरीहरूमध्ये कुनैकुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्यमा हिंडेका भेट्टाएर म ज्यादै आनन्दित छु।
5अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइनँ, तर त्यही लेखिरहेछु, जो सुरुदेखि नै हामीसँग छ— हामीले एक-अर्कासँग प्रेम गरौं भनी म तिमीलाई बिन्ती गर्दछु।
6उहाँका आज्ञाबमोजिम हिंड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।
7किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्तो व्यक्ति नै छली र ख्रीष्ट विरोधी हो।
8होशियार रहो, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ, त्यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ।
9ख्रीष्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ।
10यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू।
11किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ।
12मैले तिमीहरूलाई कुरा लेख्नु त धेरै छ, तर कागत र मसीले ती म लेख्न चाहन्नँ। तर हामीहरूको आनन्द पूर्ण होस् भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु।
13चुनिएकी तिम्री बहिनीका छोरा-छोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।