२ राजाहरू 1:1-18 NNRV2012 - Bible AI

1आहाबको मृत्‍युपछि मोआब इस्राएलको विरुद्धमा बागी भए।

2अब अहज्‍याह सामरियामा माथिल्‍लो कोठाको आँखीझ्‍यालबाट तल खसेका थिए, र तिनलाई चोट लाग्‍यो। यसैले तिनले समाचारवाहकहरूलाई यसो भनी पठाए, “गएर एक्रोनको देवता बाल-जिबबसित सल्‍लाह लेओ, कि म यस चोटबाट निको हुन्‍छु कि हुन्‍नँ।”

3तर परमप्रभुका स्‍वर्गदूतले तिश्‍बी एलियालाई भने, “गएर सामरियाका राजाका समाचारवाहकसँग भेट गर र तिनीहरूलाई सोध, ‘के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तिमीहरू एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिन जाँदैछौ?’

4यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘बिरामी परेको ओछ्यानबाट तँ उठ्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’।” तब एलिया गइहाले।

5जब ती समाचारवाहकहरू राजाकहाँ फर्किआए, तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?”

6तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’।”

7राजाले तिनीहरूलाई सोधे, “तिमीहरूसँग भेट गरेर यसो भन्‍ने मानिस कस्‍ता किसिमका थिए?”

8तिनीहरूले जवाफ दिए, “तिनी भुत्‍लाका लुगा लगाएका र कम्‍मरमा छालाको पेटी बाँधेका मानिस थिए। राजाले भने, “तिनी त तिश्‍बी एलिया हुन्‌।”

9तब तिनले एक जना कप्‍तान तिनका पचास जना मानिसको दलसहित एलियाकहाँ पठाए। ती कप्‍तान उक्‍लेर एलियाकहाँ गए, जो डाँड़ाको टाकुरामा बसिरहेका थिए, र तिनलाई भने, “हे परमेश्‍वरका जन, राजाले तपाईंलाई भन्‍नुहुन्‍छ, ‘ओर्लेर आउनुहोस्‌’।”

10एलियाले ती कप्‍तानलाई जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने, स्‍वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासै मानिसलाई भस्‍म पारोस्‌!” तब स्‍वर्गबाट आगो झरेर ती कप्‍तान र तिनका मानिसलाई भस्‍म पार्‍यो।

11त्‍यसपछि राजाले अर्का एक जना कप्‍तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजा यसो भन्‍नुहुन्‍छ, ‘झट्टै तल आऊ’!”

12एलियाले जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने, स्‍वर्गबाट आगो झरेर तिमी र तिम्रा पचास मानिसलाई भस्‍म पारोस्‌।” तब परमेश्‍वरको आगो स्‍वर्गबाट झर्‍यो र तिनी र तिनका मानिसहरूलाई भस्‍म पार्‍यो।

13तब राजाले एक जना तेस्रा कप्‍तानलाई तिनका पचास मानिसहरूसँग पठाए। यी तेस्रा कप्‍तान एलियाकहाँ उक्‍लेर गए र तिनको सामुन्‍ने घुँड़ा टेकेर तिनलाई बिन्‍ती गरे, “हे परमेश्‍वरका जन, मेरो जीवन र तपाईंका यी दासहरूका जीवनप्रति निगाह राख्‍नुहोस्‌!

14हेर्नुहोस्, स्‍वर्गबाट आगो बर्सेर ती अघिका दुई कप्‍तान र तिनीहरूका मानिसहरूलाई भस्‍म पार्‍यो। तर अब मेरो प्राणमाथि तपाईंको निगाह रहोस्‌।”

15परमप्रभुका स्‍वर्गदूतले एलियालाई भने, “त्‍यससँग तल जाऊ। त्‍यससँग नडराऊ।” यसैले एलिया उठे र तिनीसँग राजाकहाँ तल गए।

16एलियाले राजालाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: के सल्‍लाह लिनलाई इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तैंले एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिन समाचारवाहकहरूलाई पठाएका छस्‌? यसो गरेको कारण तँ पस्रिरहेको ओछ्यान तैंले कहिल्‍यै छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌।”

17तब एलियाले भनेको परमप्रभुको वचनअनुसार तिनी मरे।

17तिनका छोरा नभएको कारण यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योराम तिनीपछि राजा भए।

18अहज्‍याहको राजकालका अरू सबै घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?