1इस्राएलका राजा यारोबामको सत्ताईसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्य गर्न लागे।
2जब तिनी राजा भए तब तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। तिनी यरूशलेमकी थिइन्।
3तिनले आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे।
4तापनि अल्गा-अल्गा ठाउँहरू तिनले हटाएनन्। मानिसहरूले अझै पनि त्यहाँ बलिदान चढ़ाउने र धूप बाल्ने गरे।
5परमप्रभुले राजालाई मरणान्त कुष्ठरोगले प्रहार गर्नुभयो, र तिनी भिन्दै घरमा बस्थे। राजाका छोरा योतामले नै राजमहलको जिम्मा लिएका थिए र देशका प्रजामाथि राज्य गर्थे।
6अजर्याहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
7अजर्याह आफ्ना पित्रहरूसित सुते, र तिनीहरूका नजिक दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योताम राजा भए।
8यहूदाका राजा अजर्याहको अठतीसौँ वर्षमा यारोबामका छोरा जकरिया सामरियामा इस्राएलका राजा भए, र तिनले छ महिना राज्य गरे।
9आफ्ना पुर्खाहरूले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्।
10याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र रचे। शल्लूमले तिनलाई मानिसहरूकै सामुन्ने आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।
11जकरियाको राजकालका अरू घटनाहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
12यसरी परमप्रभुले येहूलाई भन्नुभएको कुरा पूरा भयो: “तेरा सन्तान चौथो पुस्तासम्म इस्राएलको राजगद्दीमा बस्नेछन्।”
13यहूदाका राजा उज्जियाहको उनन्चालीस वर्षमा याबेशका छोरा शल्लूम राजा भए, र तिनले एक महिना सामरियामा राज्य गरे।
14त्यसपछि गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले। तिनले सामरियामा याबेशका छोरा शल्लूमलाई आक्रमण गरे, र तिनलाई मारेर तिनी राजा भए।
15शल्लूमको राजकालका अरू घटनाहरू र तिनले रचेका षड्यन्त्र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
16त्यसै बेला मनहेम तिर्साबाट सुरु गरेर तिफसा र त्यसका छेउछाउको हरेकलाई आक्रमण गरे, किनभने उनीहरूले तिनको निम्ति त्यसका ढोकाहरू खोल्न इन्कार गरे। तिनले तिफसालाई ध्वंस गरे, र सबै गर्भवती स्त्रीहरूका पेट चिरिदिए।
17यहूदाका राजा अजर्याहको उनन्चालीस वर्षमा गदीका छोरा मनहेम इस्राएलका राजा भए, र तिनले सामरियामा दश वर्ष राज्य गरे।
18तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट आफ्ना सम्पूर्ण राजकालभरि नै तिनी फर्केनन्।
19तब अश्शूरका राजा पूलले देशलाई आक्रमण गरे, र राज्यमा आफ्नो राजकीय अधिकार बलियो पार्नलाई मनहेमले पूललाई एक हजार तोड़ा
20मनहेमले इस्राएलबाट यो रुपियाँपैसा जबरदस्तसाथ लिए। हरेक धनी मानिसले अश्शूरका राजालाई पचास शेकेल
21मनहेमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
22मनहेम आफ्ना पित्रहरूसित सुते, र तिनका छोरा पकहीया तिनीपछि राजा भए।
23यहूदाका राजा अजर्याहको पचासौँ वर्षमा मनहेमका छोरा पकहीया सामरियामा इस्राएलका राजा भए, र तिनले दुई वर्ष राज्य गरे।
24पकहीयाले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्।
25तिनका मुख्य अधिकृतहरूमध्येका एक जना, रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र रचे। गिलादका पचास जना मानिसहरू आफ्नो साथमा लिएर सामरियामा भएको राजमहलको गढ़ीभित्र पसीकन पेकहले पकहीयालाई अनि अर्गोब र अरिहलाई पनि मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।
26पकहीयाको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
27यहूदाका राजा अजर्याहको बाउन्नौँ वर्षमा रमल्याहका छोरा पेकह सामरियामा इस्राएलका राजा भए, र तिनले बीस वर्ष राज्य गरे।
28तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। इस्राएललाई गर्न लाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्।
29इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेरले आएर इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोर लिए। उनले गिलाद र गालील, नप्तालीका सबै जग्गासमेत लिए, र मानिसहरूलाई अश्शूर देशमा कैद गरेर लगे।
30तब एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र रचे। होशियाले आक्रमण गरेर तिनको हत्या गरे, र उज्जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।
31पेकहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती सबै इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
32इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा उज्जियाहका छोरा योतामले राज्य गर्न लागे।
33जब तिनी राजा भए तब तिनी पच्चीस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ सादोककी छोरी यरूशा थियो।
34आफ्ना पिता उज्जियाहले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही तिनले गरे।
35तापनि डाँड़ाका अल्गा-अल्गा ठाउँहरू हटाइएनन्। मानिसहरूले त्यहाँ बलिदान चढ़ाउने र धूप बाल्ने गरे। योतामले नै परमप्रभुका मन्दिरको माथिल्लो ढोकाको पुनर्निर्माण गरे।
36योतामको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
37(त्यस बेला परमप्रभुले अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन लाग्नुभयो।)
38योताम आफ्ना पित्रहरूसित सुते, र तिनका पुर्खा दाऊदको सहरमा तिनीहरूसितै गाड़िए। अनि तिनीपछि तिनका छोरा आहाज राजा भए।