२ राजाहरू 2:1-25 NNRV2012 - Bible AI

1जब परमप्रभुले आँधीबेहरीद्वारा एलियालाई स्‍वर्गमा उठाइलानै आँट्‌नुभएको थियो, तब एलिया र एलीशा गिलगाल छोड़ेर बाटोमा गइरहेका थिए।

2तब एलियाले एलीशालाई भने, “तिमी यहीँ बस, परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ।”

2तर एलीशाले भने, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” अनि तिनीहरू बेथेलमा झरे।

3बेथेलमा अगमवक्ताहरूको दलले एलीशाकहाँ आएर सोधे, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लैजानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले भने, “हो, मलाई थाहा छ। तर त्‍यस विषयमा केही नभन।”

4तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस। परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ।” अनि तिनले जवाफ दिए, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” अनि तिनीहरू यरीहोमा गए।

5यरीहोमा अगमवक्ताहरूको दल एलीशाकहाँ आएर सोधे, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लैजानुहुनेछ भन्‍ने तपाईंलाई थाहा छ?” तिनले भने, “हो, मलाई थाहा छ। तर त्‍यस विषयमा केही नभन।”

6तब एलियाले तिनलाई भने, “यहीँ बस। परमप्रभुले मलाई यर्दन नदीमा पठाउनुभएको छ।” अनि एलीशाले जवाफ दिए, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्‍दछु, म तपाईंलाई छोड्‌नेछैनँ।” यसैले ती दुवै अगि हिँड़े।

7पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा अड़िएको ठाउँतिर हेर्दै निकै टाढ़ामा उभिए।

8एलियाले आफ्‍नो खास्‍टो उतारे, र त्‍यो बेहेरेर यर्दन नदीको पानीलाई त्‍यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो, र तिनीहरू सुक्‍खा जमिनमा हिँड़ेर पारि गए।

9नदी पार गरिसकेपछि एलियाले एलीशालाई भने, “तिमीबाट उठाएर लान अघि म तिम्रो निम्‍ति के गरूँ?” “तपाईंको आत्‍माको दोबर भाग पाउने हक मलाई दिनुहोस्,” एलीशाले जवाफ दिए।

10एलियाले भने, “तिमीले त गाह्रो कुरा पो माग्‍यौ। तापनि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्‍यौ भने त्‍यो तिम्रो हुनेछ— होइन भने, पाउनेछैनौ।”

11जब तिनीहरू कुरा गर्दै अगि हिँड़िरहेका थिए, तब एक्‍कासि एउटा अग्‍निमय रथ र घोड़ाहरू देखा परे, र दुईलाई एक-अर्काबाट अलग गरे, र एलिया भुमरीमा माथि स्‍वर्गतिर लगिए।

12एलीशाले यो देखे र कराएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोड़चढ़ीहरू!” अनि एलीशाले एलियालाई फेरि देखेनन्‌। त्‍यसपछि तिनले आफ्‍नो लुगा समातेर दुई भागमा च्‍याते।

13एलीशाले एलियाको खसेको खास्‍टो उठाए र फर्केर यर्दन नदीको किनारमा उभिए।

14तब त्‍यहाँ तिनले एलियाको खसेको खास्‍टोले पानीलाई हिर्काए। तिनले सोधे, “परमप्रभु एलियाका परमेश्‍वर अब कहाँ हुनुहुन्‍छ त?” जब तिनले पानीलाई हिर्काए, तब त्‍यो दाहिने र देब्रेतिर दुई भाग भयो, र तिनी पारि गए।

15त्‍यो दृश्‍य हेरिरहने यरीहोबाट आएका अगमवक्ताहरूको दलले भन्‍यो, “एलियाको आत्‍मा एलीशामाथि परेछ।” तब उनीहरू तिनलाई भेट्‌न आए, र तिनको अगि भूँइसम्‍मै घोप्‍टो परे।

16उनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दासहरूसँग पचास जना सुयोग्‍य मानिसहरू छन्‌। तिनीहरू गएर तपाईंका मालिकलाई खोज्‍ने अनुमति दिनुहोस्‌। शायद परमप्रभुका आत्‍माले तिनलाई उठाएर कुनै पहाड़ अथवा कुनै बेँसीमा राखिदिनुभएको छ।”

16तिनले भने, “अँहँ, तिनीहरूलाई नपठाओ।”

17तर उनीहरूले तिनलाई लज्‍जित पारुञ्‍जेल जिद्दी गरी नै रहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि उनीहरूले पचास जना मानिसहरूलाई पठाए। तिनीहरूले तीन दिनसम्‍म खोजे, तापनि एलियालाई फेला पार्न सकेनन्‌।

18जब तिनी यरीहोमा नै छँदा तिनीहरू एलीशाकहाँ फर्केर आए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजानू भनी भनेको थिइनँ र?”

19त्‍यस सहरका मानिसहरूले एलीशालाई भने, “हे प्रभु, हेर्नुहोस्, कि यो नगर राम्रो गरी बसालिएको छ, तर यहाँको पानी दूषित छ, र केही उम्रदैन।”

20तिनले भने, “एउटा नयाँ बटुको मकहाँ ल्‍याओ, र त्‍यसमा नून हाल।” यसैले तिनीहरूले त्‍यो ल्‍याए।

21तब तिनी पानीको मूलमा गएर त्‍यहाँ त्‍यो नून छर्केर भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मैले यस पानीलाई विशुद्ध तुल्‍याएको छु। त्‍यसले अब कहिल्‍यै मृत्‍यु ल्‍याउनेछैन, न केही नउम्रने गराउनेछ।”

22एलीशाले भनेको वचनअनुसार आजको दिनसम्‍मै त्‍यो पानी स्‍वस्‍थकर रहेको छ।

23त्‍यहाँबाट एलीशा उक्‍लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्‍दै जिस्‍क्‍याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।”

24तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा भालू निस्‍केर तिनीहरूमध्‍येका बयालीस जना ठिटाहरूलाई फहराए।

25अनि त्‍यहाँबाट तिनी कर्मेल डाँड़ामा उक्‍लेर गए, र त्‍यसपछि तिनी सामरियामा फर्के।