२ राजाहरू 20:1-21 NNRV2012 - Bible AI

1ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ: तेरो घरलाई ठीकठाक पार्, किनभने तँ मर्नेछस्‌। तँ निको हुनेछैनस्‌।”

2तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढ़ाए,

3“हे परमप्रभु, सम्‍झना राख्‍नुहोस्, म तपाईंको सामुन्‍ने कस्‍तो विश्‍वास र सम्‍पूर्ण हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यो गरेको छु।” अनि हिजकिया धुरुधुरु रोए।

4यशैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनीकहाँ आयो:

5“फर्केर मेरो प्रजाको अगुवालाई भन्, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्‍दिरमा जानेछस्‌।

6म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु। अनि तँलाई र यस सहरलाई अश्‍शूरको राजाको हातबाट छुटाउनेछु। मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यस सहरको रक्षा गर्नेछु’।”

7तब यशैयाले भने, “नेभाराको लेप बनाएर लगाउनू।” तिनीहरूले त्‍यसै गरे, र त्‍यो तिनको पिलोमा लगाइदिए र तिनी निको भए।

8हिजकियाले यशैयालाई सोधेका थिए, “म निको हुनेछु र तेस्रो दिनमा परमप्रभुको भवनमा जानेछु भनी परमप्रभुले मलाई के चिन्‍ह दिनुहुनेछ?”

9यशैयाले जवाफ दिए, “तपाईंलाई परमप्रभुको चिन्‍ह यही हुनेछ, कि परमप्रभुले जे प्रतिज्ञा गर्नुभएको छ त्‍यो काम हुनेछ। घामको छाया दश कदम अगि सरोस्, कि दश कदम पछि सरोस्‌?”

10हिजकियाले भने, “घामको छाया दश कदम अगि सर्नु त सजिलो छ। त्‍यो दश कदम पछि सरोस्‌।”

11तब यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे, र परमप्रभुले आहाजको सिँढ़ीमा छाया दश कदम पछि सारिदिनुभयो।

12त्‍यसै बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एक कोसेली पठाए, किनभने हिजकिया बिरामी छन्‌ भन्‍ने उनले सुनेका थिए।

13हिजकियाले समाचारवाहकहरूलाई स्‍वागत गरे र उनीहरूलाई आफ्‍ना भण्‍डारहरूमा भएका सबै थोकहरू— सुन, चाँदी, मसला, सुगन्‍धित तेल— आफ्‍ना हतियारहरू राख्‍ने घर र भण्‍डारमा भएका सारा थोक देखाइदिए। आफ्‍नो राजमहल र आफ्‍ना सबै राज्‍यमा हिजकियाले उनीहरूलाई नदेखाएको कुनै पनि थोक रहेन।

14तब यशैया अगमवक्ताले हिजकिया राजाकहाँ आएर सोधे, “ती मानिसहरूले के भने, र उनीहरू कहाँबाट आएका रहेछन्‌?” हिजकियाले जवाफ दिए, “उनीहरू टाढ़ा देश बेबिलोनबाट आएका हुन्‌।”

15तब अगमवक्ताले सोधे, “उनीहरूले तपाईंको राजमहलमा के-के देखे त?” हिजकियाले भने, “उनीहरूले मेरो राजमहलमा सबै कुरा देखे। मेरा भण्‍डारमा भएको मैले उनीहरूलाई नदेखाएको कुनै पनि थोक छैन।”

16तब यशैयाले हिजकियालाई भने, “परमप्रभुको वचन सुन्‍नुहोस्‌:

17समय निश्‍चय नै आउनेछ, जब तेरो घरमा भएका सबै थोक, र आजको दिनसम्‍म तेरा पिता-पुर्खाहरूले थुपारेका सबै कुरा बेबिलोनमा लगिनेछन्‌। एउटै कुरा पनि छोड़िनेछैन, परमप्रभु भन्‍नुहुन्‍छ।

18तेरा केही सन्‍तानहरू, तेरै हाड़ र मासु, जो तँबाट जन्‍मनेछन्, तिनीहरू लगिनेछन्‌। अनि बेबिलोनका राजाको राजमहलमा तिनीहरू नपुंसक बनाइनेछन्‌।”

19हिजकियाले भने, “तपाईंले भन्‍नुभएको परमप्रभुको वचन असलै छ।” किनभने तिनले विचार गरे, “के मेरो जीवनभरि त शान्‍ति र सुरक्षा हुनेछैन र?”

20हिजकियाको राजकालका अरू घटनाहरू र तिनका सबै उपलब्‍धिहरू, र तिनले कसरी पोखरी र सुरुङ बनाएर सहरमा पानी ल्‍याए के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

21हिजकिया आफ्‍ना पित्रहरूसित सुते, अनि तिनीपछि तिनका छोरा मनश्‍शे राजा भए।

>