२ राजाहरू 23:1-37 NNRV2012 - Bible AI

1त्‍यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई बोलाइपठाए।

2यहूदाका मानिसहरू, यरूशलेमका बासिन्‍दाहरू, पूजाहारीहरू र अगमवक्ताहरू, साना-ठूला सबै मानिसहरूसँग तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए। परमप्रभुको मन्‍दिरभित्र फेला परेको करारको पुस्‍तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढ़े।

3तब खम्‍बाको छेउमा उभिएर राजाले परमप्रभुको सामुन्‍ने करारलाई पुनर्स्‍थापना गरे— परमप्रभुलाई पछ्याउन र उहाँका आज्ञाहरू, विधिहरू र उर्दीहरू आफ्‍नो सारा हृदयले र प्राणले पालन गर्न, र यस पुस्‍तकमा लेखिएका करारका वचनहरू पूरा गर्नलाई परमप्रभुका यी कुराहरू तिनले अनुमोदन गरे। त्‍यसपछि सबै मानिसहरूले त्‍यस करारअनुसार हिँड्‌न आफूलाई धितो राखे।

4राजाले प्रधान पूजाहारी हिल्‍कियाह, तिनका पछिको दर्जामुनिका पूजाहारीहरू र ढोकेहरूलाई परमप्रभुको मन्‍दिरबाट बाल देवता र अशेरा देवी र आकाशका तारामण्‍डलका निम्‍ति बनाइएका सबै थोक हटाउनलाई हुकुम गरे। तिनले यी सबै यरूशलेमको बाहिर किद्रोन खोल्‍साको मैदानमा जलाइदिए, र खरानीचाहिँ बेथेलमा लगे।

5यहूदाका नगरहरू र यरूशलेमका छेउछाउका अल्‍गा-अल्‍गा ठाउँहरूमा धूप बाल्‍ने पूजाहारीहरू, जुनहरूलाई यहूदाका राजाहरूले नियुक्त गरेका थिए— उनीहरू जसले बाललाई, घामलाई र जूनलाई, अनि नक्षत्रहरू र सम्‍पूर्ण तारामण्‍डललाई धूप चढ़ाउने गर्थे।

6तिनले परमप्रभुको मन्‍दिरबाट अशेराको खम्‍बा निकालेर यरूशलेमको बाहिर किद्रोन खोल्‍सामा लगेर त्‍यहीँ जलाइदिए, र धूलोपीठो पारे। अनि तिनले त्‍यो साधारण मानिसका चिहानहरूमा छरिदिए।

7तिनले पुरुष वेश्‍याहरूका बस्‍ने घरहरू भत्‍काइदिए, जो परमप्रभुका मन्‍दिरभित्र थिए र जहाँ स्‍त्रीहरूले अशेराको निम्‍ति बुन्‍ने गर्थे।

8योशियाहले यहूदाका नगरहरूबाट सबै पूजाहारीहरूलाई निकाले, र उनीहरूले धूप बाल्‍ने गरेका गेबादेखि बेर्शेबासम्‍मका अल्‍गा-अल्‍गा ठाउँमा भएका पूजाथानहरूलाई तिनले अपवित्र तुल्‍याइदिए। तिनले ढोकाका देवता-थानहरू भत्‍काइदिए— सहरका राज्‍यपाल यहोशूको ढोकाको सामुन्‍ने, जो सहरको मूल ढोकाको देब्रेपट्टि छ।

9यी अल्‍गा-अल्‍गा ठाउँहरूका पूजाहारीहरूले यरूशलेममा परमप्रभुको वेदीमा सेवा गरेनन्, तर उनीहरूले आफ्‍ना सङ्गी-पूजाहारीहरूसित अखमिरी रोटी खाने गर्थे।

10मोलोखको निम्‍ति कसैले पनि आफ्‍ना छोरा वा छोरीलाई होम गर्न प्रयोग नगरोस्‌ भनी बेन-हिन्‍नोमको बेँसीमा भएको तोपेतलाई तिनले अपवित्र तुल्‍याइदिए।

11परमप्रभुका मन्‍दिरको द्वारमा यहूदाका राजाहरूले सूर्यका सम्‍मानको निम्‍ति बसालेका घोड़ाहरू हटाइदिए। तीचाहिँ नातान-मेलेक नाउँका एक जना अधिकृतका कोठा नजिकको चोकमा थिए। तब सूर्यको निम्‍ति समर्पण गरिएका रथहरू योशियाहले जलाइदिए।

12आहाजको माथिल्‍लो कोठा नजिकको कौसीमा यहूदाका राजाहरूले खड़ा गरेका वेदीहरू, र परमप्रभुको मन्‍दिरका दुवै चोकमा मनश्‍शेले निर्माण गरेका वेदीहरू तिनले भत्‍काइदिए। तिनले ती त्‍यहाँबाट हटाएर ढुङ्गा-रोड़ा पारी किद्रोन खोल्‍सामा फालिदिए।

13यरूशलेमको पूर्वपट्टि भ्रष्‍ट पारिएको डाँड़ाको दक्षिणपट्टि भएका अल्‍गा-अल्‍गा ठाउँहरू, जुनहरू इस्राएलका राजा सोलोमनले सीदोनीहरूको घिनलाग्‍दो देवी अश्‍तोरेत, मोआबको घिनलाग्‍दो देवता कमोश र अम्‍मोनका मानिसहरूको घृणित देवता मोलोखका निम्‍ति बनाएका थिए, ती पूजा-थानहरू पनि तिनले अपवित्र तुल्‍याइदिए।

14योशियाहले चोखा ढुङ्गाहरू चूरचूर पारिदिए, र अशेराका खम्‍बाहरू काटिदिए र ती ठाउँहरूलाई मरेका मानिसहरूका हड्डीहरूले भरिदिए।

15इस्राएललाई पाप गर्न लाएका नबातका छोरा यारोबामले बनाएका बेथेलमा भएको अल्‍गो ठाउँ र वेदी पनि तिनले भत्‍काइदिए। तिनले त्‍यो अल्‍गो ठाउँलाई जलाइदिए र त्‍यसलाई धूलोपीठो पारिदिए, र अशेराको खम्‍बा पनि जलाइदिए।

16त्‍यसपछि योशियाहले यताउता हेरे, र जब तिनले डाँड़ाको छेउमा भएका चिहानहरू देखे, तब तिनले ती चिहानहरूबाट हड्डी निकाल्‍न लाए, र त्‍यो वेदी अपवित्र तुल्‍याउनलाई ती हड्डीहरू त्‍यहीँ जलाइदिए। यी कुराको अगमवाणी गरेका परमेश्‍वरका जनद्वारा बोलेको परमप्रभुको वचनबमोजिम तिनले यी काम गरे।

17राजाले सोधे, “मैले देखेको त्‍यो स्‍मारकचाहिँ केको हो त?” त्‍यस सहरका मानिसहरूले भने, “त्‍यो त ती परमेश्‍वरका जनको चिहानको चिन्‍ह हो, जसले यहूदाबाट आएर बेथेलका वेदीको विरुद्धमा तपाईंले गर्नुभएका सबै कामको अगमवाणी गरेका थिए।”

18तिनले भने, “त्‍यसो भए त्‍यसलाई चाहिँ छोड़िदेओ। तिमीहरू कसैले पनि तिनका हड्डीलाई नचलाओ।” यसैले तिनीहरूले तिनका र सामरियाबाट आएका अगमवक्ताका हड्डीहरूलाई त्‍यसै छोड़िदिए।

19त्‍यसबाहेक इस्राएलका राजाहरूले सामरियाका नगरहरूमा बनाएका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजा-थानहरू, जसको कारणले परमप्रभुलाई रीस उठाएका हुनाले योशियाहले बेथेलमा गरेझैँ तिनलाई हटाइदिए र दूषित पारे।

20त्‍यहाँका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजाहारीहरूलाई योशियाहले वेदीहरूमाथि मारे, र ती वेदीहरूमा तिनले मानिसहरूका हड्डी जलाए। त्‍यसपछि तिनी यरूशलेममा फर्के।

21राजाले सबै मानिसहरूलाई यो हुकुम गरे: “परमप्रभु आफ्‍ना परमेश्‍वरको निस्‍तार-चाड़ करारको यस पुस्‍तकमा लेखेझैँ मनाओ।”

22इस्राएलीहरूलाई अगुवाइ गर्ने न्‍यायकर्ताहरूका दिनहरूदेखि र इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयदेखि यसो यस्‍तो निस्‍तार-चाड़ कहिल्‍यै मनाइएको थिएन।

23तर योशियाह राजाको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्‍ति यो निस्‍तार-चाड़ मनाइयो।

24त्‍यसबाहेक परमप्रभुको मन्‍दिरमा पूजाहारी हिल्‍कियाहले भेट्टाएको व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका कुराहरू पूरा गर्नलाई योशियाहले सबै जोखना हेर्ने, र भूतप्रेत खेलाउने, सबै घर-देवताहरू र मूर्तिहरू, र यहूदामा र यरूशलेममा देखिने सबै घिनलाग्‍दा थोकहरूलाई खतम गरे।

25आफ्‍नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्‍यवस्‍था मानेर परमप्रभुतर्फ त्‍यसरी फर्केका कुनै पनि राजा योशियाहजस्‍तै अघि वा पछि कहिल्‍यै भएको छैन।

26तापनि परमप्रभु आफ्‍नो भयानक क्रोधको तापबाट फर्कनुभएन, जो मनश्‍शेले उहाँलाई रीस उठाएको कारणले यहूदाको विरुद्धमा दन्‍केको थियो।

27यसैले उहाँले भन्‍नुभयो, “जसरी मैले इस्राएललाई निकालेको थिएँ, त्‍यसरी नै यहूदालाई पनि म मेरो उपस्‍थितिबाट निकालिदिनेछु। अनि मैले चुनेको यरूशलेम सहर, र जसको विषयमा मैले त्‍यहाँ मेरो नाउँ रहनेछ भनी भनेको थिएँ, त्‍यस मन्‍दिरलाई म इन्‍कार गर्नेछु।”

28योशियाहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

29जब योशियाह राजा नै थिए, तब मिश्रदेशका राजा फारो नेकोले अश्‍शूरका राजालाई सहायता गर्न यूफ्रेटिस नदीतिर उक्‍ले। योशियाह राजा उनीसित लड़ाइँ गर्न अगि बढ़े, तर नेकोले तिनको सामना गरेर तिनलाई मगिद्दोमा मारे।

30योशियाहका सेवकहरूले तिनको लाश रथमा हालेर मगिद्दोबाट यरूशलेममा ल्‍याए, र तिनको आफ्‍नै चिहानमा तिनलाई गाड़े। त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको सट्टामा राजा अभिषेक गरे।

31जब यहोआहाज राजा भए तब तिनी तेईस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्‍य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्‍नाकी थिइन्‌।

32तिनले आफ्‍ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

33तिनले यरूशलेममा शासन नगरून्‌ भनी फारो नेकोले तिनलाई साङ्‌लाले बाँधेर हमात देशको रिब्‍लामा राखे, र उनले यहूदालाई एक सय तोड़ा [1] चाँदी र एक तोड़ा [2] सुन कर तिर्न लाए।

34फारो नेकोले योशियाहका छोरा एल्‍याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्‍याए, र तिनको नाउँ एल्‍याकीमबाट यहोयाकीम राखिदिए। तर उनले यहोआहाजलाई मिश्रदेशमा लगे र राखे, अनि तिनी त्‍यहीँ नै मरे।

35फारोले मागेका सुन र चाँदी तिर्नलाई यहोयाकीमले देशमाथि कर लगाए। तोकिएको करअनुसार देशका मानिसहरूबाट सुन र चाँदी तिनले जबरदस्‍तसाथ लिए।

36जब यहोयाकीम राजा भए तब तिनी पच्‍चीस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ पदायाहकी छोरी जबीदा थियो। तिनी रूमाकी थिइन्‌।

37अनि तिनले आफ्‍ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

>