1एलीशाले भने, “परमप्रभुको वचन सुन्नुहोस्। परमप्रभु यसो भन्नुहुन्छ: ‘भोलि यही बेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बिक्री हुनेछ।”
2जुन अधिकृतका हातको भर लिएर राजा हिँड्थे, तिनले परमेश्वरका जनलाई भने, “हेर, परमप्रभुले स्वर्गका झ्यालहरू खोलिदिनुभयो भने पनि के यस्तो हुन सक्थ्यो र?”
3अब त्यस सहरको मूल ढोकानेर बस्ने चार जना कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्जेल किन बस्ने?
4यदि ‘हामी सहरभित्र जाऔं’ भनी भन्यौं भने, त्यहाँ अनिकाल छ र हामी मर्नेछौं। अनि यहाँ बस्यौं भने पनि हामी मर्नेछौं। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोड़िदिए भने हामी बाँच्नेछौं। यदि मारे भने पनि हामी मर्नेछौं।”
5तब तिनीहरू साँझपख उठेर अरामीहरूको छाउनीतिर गए। जब तिनीहरू छाउनीको छेउमा आइपुगे, तिनीहरूले त्यहाँ एउटै मानिस पनि देखेनन्।
6किनकि परमप्रभुले अरामीहरूलाई रथहरू, घोड़ाहरू र एक ठूलो सेनाको आवाज सुन्न लाउनुभएको थियो, ताकि उनीहरूले एक-अर्कालाई भने, “हेर त, इस्राएलका राजाले त हामीलाई आक्रमण गर्न हित्ती र मिश्रदेशका राजाहरूलाई भाड़ामा ल्याएका छन्।”
7यसैकारण उनीहरू साँझमा आफ्ना पालहरू, घोड़ाहरू र गधाहरू छोड़ेर ज्यान बचाएर भागेका थिए। छाउनी पनि त्यसै लथालिङ्गै थिए।
8ती कुष्ठरोग लागेका मानिसहरू छाउनीको छेउमा पुगे र पालहरूमध्ये एउटामा पसेर तिनीहरूले खानपान गरे, अनि सुन र चाँदी र लुगाहरू अन्यत्र लगेर लुकाइराखे। त्यसपछि तिनीहरू फेरि आएर अर्को पालमा पसे र चीजबीज लगेर ती पनि लुकाइराखे।
9तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले गरेको यो काम असल होइन। आज त शुभ समाचारको दिन रहेछ, र हामी भने चूपै लागेर बसेका छौं। भोलि बिहानसम्म पर्खिरह्यौं भने हामीलाई सजाय हुनेछ। अब हामी झट्टै गएर राजमहलमा यो खबर दिऔं।”
10तब तिनीहरू गएर सहरका ढोकाका पालेहरूलाई बोलाएर भने, “हामीहरू अरामी छाउनीमा गयौं र एउटै पनि मानिस देखेनौं। कसैको केही आवाज छैन— घोड़ाहरू र गधाहरू त्यत्तिकै बाँधिएका छन्, र पालहरू पनि त्यसै छोड़िएका छन्।”
11तब पालेहरूले कराएर यो खबर दिए, र त्यो राजमहलभित्र पठाइयो।
12राजा राती नै उठेर आफ्ना अधिकृतहरूलाई भने, “अरामीहरूले के गरेका हुन् म तिमीहरूलाई भन्छु। हामी भोकले मर्दैछौं भनी उनीहरूलाई थाहा छ। यसैले यसो सम्झेर उनीहरू छाउनी छोड़ेर छेउछाउको बस्तीमा लुक्नलाई गएका छन्, ‘तिनीहरू निश्चय नै बाहिर निस्कनेछन्, र हामी तिनीहरूलाई जिउँदै पक्रनेछौं, र हामी सहरभित्र पस्नेछौं’।”
13अधिकृतहरूका एक जनाले जवाफ दिए, “हाम्रो सहरमा रहेका पाँच वटा घोड़ाहरू लिएर केही मानिसहरू पठाउनुहोस्। तिनीहरूको दशा यहाँ छोड़िएका सबै इस्राएलीहरूको जस्तै हुनेछ— हो साँच्चै, तिनीहरू यहाँ मर्ने सबै इस्राएलीहरूजस्तै हुनेछन्। के भएछ गएर पत्ता लगाउन हामी तिनीहरूलाई पठाऔं।”
14तब तिनीहरूले दुई वटा रथहरू र तिनका घोड़ाहरू छाने, र अरामी सेनालाई के भएछ भनी निधो गर्न राजाले तिनीहरूलाई पठाए। तिनले सारथिहरूलाई यस्तो हुकुम दिए, “गएर के भएछ सो पत्तो लगाओ।”
15तिनीहरू यर्दन नदीसम्मै खोजी गर्दैगए, र बाटोभरि अरामीहरूले हतार-हतार भाग्दा फ्याँकिराखेका लुगाफाटा र हातहतियार भेट्टाए। तब समाचारवाहकहरू आएर राजालाई यो खबर दिए।
16तब मानिसहरू बाहिर निस्केर अरामीहरूको छाउनीलाई लुटे। यसैले परमप्रभुले भन्नुभएअनुसार एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बेचियो।
17अब जसको हातमा भर परेर राजा हिँड्थे त्यस अधिकृतलाई तिनले मूल ढोका हेर्ने जिम्मामा खटाइदिएका थिए। अनि राजा तिनको घरमा भेट गर्न जाँदा परमेश्वरका जनले अगमवाणी गरेझैँ मानिसहरूले उनलाई मूल ढोकामा कुल्चेर मारे।
18परमेश्वरका जनले राजालाई यसो भनेका थिए, “भोलि यसै बेला एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ सामरियाको मूल ढोकामा बिक्री हुनेछ।”
19ती अधिकृतले परमप्रभुका जनलाई यस्तो भनेका थिए, “हेर, परमप्रभुले स्वर्गका झ्यालहरू खोलिदिनुभयो भने पनि के यस्तो हुन सक्थ्यो र?” परमेश्वरका जनले जवाफ दिएका थिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर तिमीले त्यसबाट केही खान पाउनेछैनौ।”
20अनि उनलाई ठीक त्यस्तै नै भयो, किनकि मानिसहरूले उनलाई मूल ढोकामा कुल्चे, र उनी मरे।