२ शमूएल 16:1-23 NNRV2012 - Bible AI

1दाऊद डाँड़ाको टाकुराबाट अलिक पर मात्र पुगेको बेलामा मपीबोशेतको नोकर सीबासँग तिनको भेट भयो। त्‍यसले आफूसँग दुई सय रोटी, एक सय झुप्‍पा किसमिस, नेभाराका एक सय डल्‍लो र एक मशक दाखमद्य जीन-लगाम कसेका एक हूल गधामा बोकाएर ल्‍याएको थियो।

2राजाले सीबालाई भने, “तिमीले यी सबै किन ल्‍यायौ?” सीबाले जवाफ दियो, “यी गधाहरूचाहिँ राजाका परिवारका सवारीको निम्‍ति हुन्, रोटी र फलहरू जवान मानिसहरूलाई खानका निम्‍ति र दाखमद्यचाहिँ मरुभूमिमा थाक्‍नेहरूका निम्‍ति हो।”

3राजाले सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्‌?” सीबाले भन्‍यो, “उनी त यरूशलेममा नै छन्, किनभने इस्राएलको घरानाले उनलाई आफ्‍ना बाजेको सिंहासन फिर्ता गरिदिनेछ भनी उनले सम्‍झेका छन्‌।”

4राजाले सीबालाई भने, “मपीबोशेतका सबै थोक तिमीले पाउनेछौ।” सीबाले भन्‍यो, “हे हजूर, मेरा महाराज, म त हजूरको एक क्षुद्र दास हुँ। हजूरको दृष्‍टिमा निगाह पाऊँ।”

5जब दाऊद राजा बहूरीममा आइपुगे तब त्‍यहाँ शाऊलका घरानाको एक जना मानिस, गेराको छोरो शिमी, निस्‍केर दाऊदलाई सराप्‍दैआयो।

6त्‍यसले दाऊद र तिनका सबै अधिकारीहरूलाई जथाभाबी ढुङ्गाले हान्‍न लाग्‍यो। दाऊदका देब्रे र दाहिनेतिर तिनका सिपाही र अङ्गरक्षकहरू थिए।

7शिमीले यसो भनेर दाऊदलाई सराप दियो, “जा, जा, ए बदमाश! ए हत्‍यारा!

8शाऊलको घरानामा रगत बगाएर उनको स्‍थानमा राज्‍य गर्न खोज्‍ने तँमाथि आज परमप्रभुले बदला लिनुभएको चाहिँ हो, र त्‍यो राज्‍य अब परमप्रभुले तेरो छोरो अब्‍शालोमलाई दिनुभयो। तँ आज बरबाद भइस्, किनभने तँ हत्‍यारा होस्‌!”

9तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्‍ने? म पारि गएर त्‍यसको टाउको उड़ाइदिनेछु।”

10तर राजाले भने, “ए सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? यदि परमप्रभुले दाऊदलाई त्‍यसले सरापोस्‌ भनी भन्‍नुभएको छ भने कसले त्‍यसलाई रोक्‍न सक्‍छ?”

11दाऊदले अबीशै र आफ्‍ना सबै अधिकारीहरूलाई भने, “यदि मेरो छोरा, मेरो आफ्‍नै छोराले मलाई मार्न खोज्‍छ भने यस बेन्‍यामीनी त के कुरा गर्नु? त्‍यसलाई छोड़िदेओ। त्‍यसले सरापोस्‌। किनभने परमप्रभुले नै त्‍यसलाई त्‍यसो गर्नू भनी भन्‍नुभएको होला।

12शायद आजको दिन मलाई यो सरापको सट्टा परमप्रभुले मेरो कष्‍ट हेर्नुहुनेछ र मलाई आशिष्‌ दिनुहुनेछ।”

13यसैले दाऊद र तिनका मानिसहरू आफ्‍नो बाटो लागे, र शिमीचाहिँ दाऊदको बाटोमा परेको पारिपट्टिको डाँड़ै-डाँड़ा गयो, र जाँदा दाऊदतिर सराप्‍दै र ढुङ्गा हान्‍दै र धूलो फ्‍याँक्‍दैगयो।

14राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्‍नो गन्‍तव्‍यमा लखतरान भई पुगे। अनि त्‍यहाँ तिनले आफूलाई ताजा बनाए।

15यसै बीचमा अब्‍शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यरूशलेममा पुगे, अनि अहीतोपेल पनि तिनीसँग थिए।

16तब दाऊदका मित्र अरकी हूशैले अब्‍शालोमलाई भेटे, र तिनलाई भने, “राजा दीर्घायु होऊन्‌! राजा दीर्घायु होऊन्‌!”

17तर अब्‍शालोमले जवाफ दिए, “तिम्रा मित्रलाई देखाएको प्रेम यही हो? तिमी उहाँसँग किन गएनौ?”

18हूशैले अब्‍शालोमलाई जवाफ दिए, “परमेश्‍वरले चुन्‍नुभएका मानिस, जनता र इस्राएलका सारा मानिसहरूले चुनेका व्‍यक्तिसँग लाग्‍ने विचार मैले गरेको छु। अनि म तिनीसँगै बस्‍नेछु।

19फेरि मैले कसको सेवा गर्ने? के छोराको सेवा गर्नुपर्दैन र? जस्‍तो मैले तपाईंका पिताको सेवा गरें, त्‍यस्‍तै म तपाईंको सेवा गर्नेछु।”

20अब्‍शालोमले अहीतोपेललाई भने, “हामीलाई तपाईंको सल्‍लाह दिनुहोस्‌। हामीले कसरी काम गर्नुपर्ने हो?”

21अहीतोपेलले जवाफ दिए, “तपाईंका पिताले महलको जिम्‍मेवारीमा छोड़िगएका तपाईंका पिताका उपपत्‍नीहरूसित सहवास गर्नुहोस्‌। तब तपाईंले आफ्‍ना पिताको नाक काटिदिएको काम सबै इस्राएलले सुन्‍नेछन्, र तपाईंको पछि लाग्‍नेहरूको हात अझै बलियो हुनेछ।”

22यसैले तिनीहरूले कौसीमा अब्‍शालोमको निम्‍ति एउटा पाल टाँगिदिए, र सबै इस्राएलले देख्‍ने गरी तिनी आफ्‍ना बुबाका उपपत्‍नीहरूसित सुते।

23ती दिनहरूमा अहीतोपेलको सल्‍लाहचाहिँ परमेश्‍वरसँग सोधपूछ गर्नेको जस्‍तै नै मानिन्‍थ्‍यो। दाऊद र अब्‍शालोमले अहीतोपेलका सल्‍लाहलाई त्‍यतिसम्‍म कदर गर्थे।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>