1अहीतोपेलले अब्शालोमलाई भने, “बाह्र हजार मानिस छान्नुहोस्, र आज राती दाऊदलाई खेद्नुहोस् भन्ने मेरो सल्लाह छ।
2तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस्। तिनलाई आतङ्कित बनाउनुहोस्, र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्। राजालाई बाहेक अरू कसैलाई नमार्नुहोस्।
3सबै मानिसहरूलाई तपाईंकहाँ फर्काइल्याउनुहोस्। तिनको मृत्युले नै सबै जनालाई फर्काइल्याउन सक्छ। अरू सबै मानिसहरूमाथि चाहिँ कुनै हानि हुनेछैन।”
4अब्शालोम र इस्राएलका सबै धर्म-गुरुहरूले अहीतोपेलको सल्लाह स्वीकार गरे।
5तर अब्शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्दारहेछन् सो हामी सुनौं।”
6हूशै आए, र अहीतोपेलले भनेका सबै कुरा अब्शालोमले तिनलाई भनिदिए, र तिनलाई सोधे, “अहीतोपेलले हामीलाई यस्तो सल्लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौं? होइन भने, तिम्रो के विचार छ भन।”
7हूशैले अब्शालोमलाई भने, “यस पल्ट अहीतोपेलले दिएका सल्लाह ठीक छैन।”
8हूशैले अझै भने, तपाईंका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लड़ाकाहरू छन्, र बच्चा खोसिएका जङ्गलका क्रोधी भालूहरूजस्ता छन्। तपाईंका पिता युद्ध-कलामा निपुण हुनुहुन्छ, अनि उहाँ राती सेनासँग बस्नुहुनेछैन।
9अहिले पनि उहाँ कुनै ओड़ारमा वा अरू त्यस्तै ठाउँमा लुकिरहनुभएको छ होला। यदि उहाँले उछिनेर पहिले नै तपाईंको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्यो भने सुन्नेले भन्नेछन् ‘अब्शालोमका पछि लाग्ने फौजहरू त नष्ट भएका छन्।’
10त्यसो हुँदा कस्तै सूरो र सिंहजस्तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्।
11यसैले मेरो सल्लाह यही छ: दानदेखि बेर्शेबासम्मका सारा इस्राएललाई समुद्रका बालुवाका कणजस्तै तपाईंकहाँ जम्मा हुन दिनुहोस्, र तिनीहरूका अगाड़ि तपाईं आफै युद्धमा मानिसहरूलाई लिएर जानुहोस्।
12तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्नेहरू कुनै पनि जीवित छोड़िनेछैन।
13उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरलाई लठारा ल्याएर एउटै ढुङ्गा पनि त्यसको जगमा नपाइने गरी हामी घिस्स्याएर बेँसीमा पुर्याउनेछौं।”
14अब्शालोम र इस्राएलका सबै मानिसहरूले भने, “अरकी हूशैले अहीतोपेलको भन्दा राम्रो सल्लाह दिएका छन्।” यो त अहीतोपेलको राम्रो सल्लाह विफल बनाउने, अनि यसरी अब्शालोमको विनाश गर्ने परमप्रभुको अभिप्राय मात्र थियो।
15हूशैले सादोक र अबियाथार पूजाहारीहरूलाई अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई दिएको सल्लाह, अनि आफूले दिएको सल्लाह पनि बताइदिए।
16हूशैले भने, “यसैले अब चाँड़ो दाऊदकहाँ मानिस पठाओ, र उहाँलाई यसो भन, ‘मरुभूमिका जँघारहरूमा वास नबस्नू तर पारि गइहाल्नू, नत्रता राजा र उहाँका मानिसहरू खतम पारिनेछन्’।”
17जोनाथन र अहीमासचाहिँ एनरोगेलमा पर्खिबसेका थिए, र एउटी दासी गएर तिनीहरूलाई खबर दिन्थी, अनि तिनीहरूले चाहिँ दाऊदलाई खबर दिन्थे। किनभने सहरभित्र कसैले देख्ने खतरामा पर्न तिनीहरू चाहँदैनथे।
18तर यस पल्ट त एक जना केटाले तिनीहरूलाई देख्यो, र त्यसले अब्शालोमलाई सुनाइदियो। यसैले ती दुई जना हतार-हतार गरी बहूरीममा एक जना मानिसको घरमा गए। त्यसका घरको आँगनमा एउटा इनार थियो, अनि तिनीहरू त्यसभित्र पसे।
19त्यस मानिसकी पत्नीले एउटा ढक्कन ल्याएर त्यस इनारको मुखमा फिँजाइदिई, र त्यसमाथि अन्नको बिस्कुन राखिदिई, अनि कसैलाई त्यसको केही थाहा भएन।
20अब्शालोमका मानिसहरू आएर त्यस स्त्रीलाई सोधे, “अहीमास र जोनाथन कहाँ छन्?”
21जब उनीहरू गइसके तब ती दुई मानिसहरू इनारबाट उक्लेर निस्के, र दाऊद राजाकहाँ गएर सबै कुरा बताइदिए। तिनीहरूले भने, “उठ्नुहोस्, र झट्टै खोला तर्नुहोस्।” अनि राजाको विरुद्धमा अहीतोपेलले गरेको युक्ति तिनीहरूले सुनाइदिए।
22यसैले दाऊद र तिनका सबै दल तुरुन्त यर्दन नदी पार गर्न लागे। मिरमिरे उज्यालोमा पारिपट्टिको किनारमा नपुगेको कोही पनि रहेन।
23जब आफूले दिएको सल्लाह नमानेको अहीतोपेलले बुझे, तब तिनले आफ्नो गधामा जीन-लगाम कसेर आफ्नो सहरपट्टि आफ्नो घरतिर गए। त्यहाँ तिनले आफ्नो घरलाई ठीकठाक गरी आफैलाई झुण्ड्याएर आत्महत्या गरे। तिनी यसरी मरे, र आफ्नो बुबाको चिहानमा गाड़िए।
24अब्शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यर्दन पार गरे, तर दाऊद अघि नै महनोममा पुगिसकेका थिए।
25अब्शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए।
26इस्राएलीहरू र अब्शालोमले गिलादको जिल्लामा छाउनी हाले।
27जब दाऊद महनोममा आइपुगे, तब अम्मोनीहरूको रब्बामा बस्ने नाहाशका छोरा शोबी, लो-देबारमा बस्ने अम्मीएलका छोरा माकीर र रोगलीममा बस्ने गिलादी बर्जिल्लैले
28ओढ्ने-ओछ्याउने, भाँड़ा-कुँड़ा र कचौराहरू ल्याएर तिनलाई दिए। तिनीहरूले गहूँ, जौ, आँटा, चिउरा, सिमी, दाल,
29मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले सम्झे।