1त्यसपछि दाऊदले पलिश्तीहरूलाई जिते, र उनीहरूमाथि तिनी विजयी भए, अनि उनीहरूका हातबाट मेथेगआमाह कब्जा गरे।
2दाऊदले मोआबीहरूलाई पनि परास्त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे।
3यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्नो अधीन फेरि राख्नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते।
4दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्नो निम्ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए।
5जब दमस्कसमा अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई आए, तब दाऊदले उनीहरूका बाईस हजारलाई मारे।
6अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्याउनुभयो।
7हददेजेरका अधिकृतहरूका सुनका ढालहरू दाऊदले लिए, र ती यरूशलेममा ल्याए।
8तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्याए।
9जब दाऊदले हददेजेरका सारा सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने,
10तब उनले आफ्ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्याए।
11ती सामग्रीचाहिँ दाऊद राजाले परमप्रभुमा अर्पण गरे, जसरी आफूले परास्त गरेका सबै जातिका सुन र चाँदीलाई तिनले अर्पण गर्ने गर्थे।
12ती हुन्: एदोम, मोआब, अम्मोनीहरू, पलिश्ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे।
13नूनको उपत्यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए।
14अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।
15दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजाका निम्ति जे-जति ठीक थियो, त्यही गरे।
16सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
17अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए।
18यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्लाहकार थिए।