३ यूहन्‍ना 1:1-15 NNRV2012 - Bible AI

1एल्‍डरबाट, मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु।

2प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्‍वास्‍थ्‍य ठीक रहोस्‌। तिम्रो आत्‍मिक जीवन ठीक छ भन्‍ने म जान्‍दछु।

3कति जना भाइहरू आएर तिम्रो जीवनका सत्‍यताको गवाही दिँदा म साह्रै आनन्‍दित भएँ। तिमी साँच्‍ची नै सत्‍यताको अनुसरण गर्दछौ।

4मेरा छोरा-छोरीहरू सत्‍यको अनुसरण गर्छन्‌ भन्‍ने कुरा सुन्‍न पाउनुभन्‍दा अरू बढ़ी आनन्‍दको कुरा मेरो लागि के हुन सक्‍छ र?

5प्रिय हो, तिमीले विश्‍वासयोग्‍य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ।

6तिनीहरूले मण्‍डलीको सामुन्‍ने तिम्रो प्रेमको गवाही दिएका छन्‌। परमेश्‍वरको दृष्‍टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्‍ध मिलाइदियौ भने तिमीले असल गर्दछौ।

7किनभने अविश्‍वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्‍केका हुन्‌।

8यसकारण यस्‍ता मानिसहरूलाई सेवा-सत्‍कार गर्नुपर्छ, ताकि हामीहरू सत्‍यतामा सहकर्मी बन्‍न सकौं।

9मैले मण्‍डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्‍ने डियोत्रिफसले मेरो अधिकार स्‍वीकार गर्दैन।

10यसकारण जब म आउँछु, त्‍यसले गरिरहेका कामहरूको कुरा उठाउनेछु। हाम्रा विरुद्धमा त्‍यसले खराब कुराहरू बकिहिँड्‌छ। त्‍यतिमा सन्‍तुष्‍ट नभएर त्‍यसले भाइहरूलाई स्‍वागत गर्न इन्‍कार गर्छ, र तिनीहरूलाई स्‍वागत गर्न चाहनेहरूलाई पनि रोक्‍छ, र तिनीहरूलाई मण्‍डलीबाट बाहिर निकालिदिन्‍छ।

11प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्‍यो परमेश्‍वरको हो, जसले खराबी गर्दछ, त्‍यसले परमेश्‍वरलाई देखेको छैन।

12डेमेत्रियसको निम्‍ति त सबै मानिसले गवाही दिएका छन्, र सत्‍यले पनि सो गवाही दिन्‍छ। हामी पनि गवाही दिन्‍छौं, र तिमी जान्‍दछौ कि हाम्रो गवाही सत्‍य छ।

13मैले धेरै कुराहरू लेख्‍नुपर्नेथियो, तर मसी र कलमले ती तिमीलाई लेख्‍न म चाहन्‍नँ।

14तर तिमीलाई चाँड़ै भेट्‌ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला।

15तिमीलाई शान्‍ति मिलोस्‌। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ।

>